Logo
Logo

पाँच चर्चित बागी- जो आधिकारिक उम्मेदवारलाई आच्छु-आच्छु पार्ने ल्याकत राख्छन्


37.2k
Shares

काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका चर्चित नेताहरु बागी उम्मेवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।

जसले पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्नसमेत सक्षम देखिन्छन् । नेकपा एमालेका नेता रामवीर मानन्धर काठमाडौं–७ मा बागी उम्मेदवार छन् । यसअघिका निर्वाचनमा यहीबाट निर्वाचित हुँदै आएका मानन्धरले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुुन् ।

उक्त क्षेत्रमा एमालेले चुनावी तालमेलअनुसार जसपालाई समर्थन गरेको छ । एमालेको समर्थनमा काठमाडौं–७ मा उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठलाई चुनाव जित्न चनौती बनेको छ । अघिल्लो पटक निर्वाचित भएका नेता मानन्धरले आफ्नो क्षेत्रमा राम्रो पकड बनाएका छन् । त्यसैले मानन्धरलाई चुनाव जित्न सहज भएको छ । काठमाडौंका स्थानीयले आफूलाई नै मत दिनेमा उनी विस्वस्त छन् ।

यस्तै, अर्का एमालेका चर्चित नेताले पनि बागी उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । एमाले स्थायी कमिटी सदस्य घानश्याम भुसाल रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनले समर्थन जनाएको छ ।

गठबन्धनबीच सिट भागबन्डामा उक्त क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । तर, माओवादीले भुसाललाई समर्थन गर्ने भएको छ । त्यसो त घनश्याम भुषाल रुपन्देहीमा प्रभावशाली नेता मानिन्छन् । भुषालको क्षेत्र रुपन्देही–३ हो । उनी त्यहीँबाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टी अध्यक्ष केपी ओलीले टिकट नदिएपछि उनी रुपन्देही–१ बाट स्वतन्त्र (बागी) उम्मेदवारी दिएका हुन् ।

त्यहाँ एमालेबाट छविलाल विश्वकर्मा उम्मेदवार छन् । एमाले सचिव समेत रहेका विश्वकर्मालाई बागी भुसाल चुनौती बनेका छन् । रुपन्देही–३ मा भुषालको आफ्नै पकड छ । त्यसमाथि गठबन्धनको समर्थन पाएपछि भुसालको जित सुनिश्चित जस्तै देखिन्छ । जहाँ कतिपय एमालेकै कार्यकर्ताले समेत भुसाललाई मत दिने बताइन्छ।

यस्तै, चुनावको मुखैमा एमाले परित्याग गरेका प्रभु साह पनि बागीका रुपमा चुनावी मैदानमा छन् । एमालेले जनपासँग तालमेल गरेपछि साहले अन्तिम अवस्थामा रौटहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी एमालेमा पोलिटब्यूरो सदस्य थिए । रौतहट–३ साहको प्रभूत्व रहेको क्षेत्र हो । मधेस प्रदेशको राजनीतिमा चतुर साह निरन्तर सत्ता र शक्तिमा रहँदै आएका छन् ।

उनले पछिल्लो समय विभिन्न पार्टीका नेता–कार्यकर्तालाई टिकटको आश्वासन दिएर एमाले प्रवेश गराएका थिए । आफूले भनेकालाई टिकट दिलाउन नसकेपछि जसपासितको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।
नेता साह ०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए ।

संविधानसभामा ०६४ र ०७० मा रौतहट ३ बाट निर्वाचित भए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । यसपटक यो क्षेत्रमा एमालेको उम्मेदवारी छैन । त्यसैले पनि साह आफ्नो जीत हुनेमा विस्वस्त छन् । यो क्षेत्रमा साहलाई गठबन्धनले समर्थन गर्ने जनाएपनि गठबन्धनबाट माओवादीका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

पटेल अहिले घरदैलो अभियानमा व्यस्त छन्  । पटेल, अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश साह र प्रभु साहबीच प्रतिस्पर्धा हुनेछ । तर, माओवादीले साहलाई सहयोग गरेको खण्डमा ओमप्रकाश र उनीबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै, कांग्रेस चर्चित नेता अमरेशकुमार सिंह पनि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । कांग्रेसबाट धेरैपटक सांसद भइसकेका अमरेशले सर्लाही–४ मा बागी उम्मेदवारी दिएका हुन् ।

यो क्षत्रेमा कांग्रेसको आधिकारिक उम्मेदवार नागेन्द्रकुमार राय छन् । तर, अमरेशले बागी उम्मेदवारी दिएप्छि उनलाई संकट आइलागेको छ । अमरेश जसरी पनि निर्वाचन जित्नेगरी अभियानमा होमिएका छन् । यो क्षेत्रमा आफ्नै पार्टीका नेता कार्यकर्ता बागीका रुपमा चुनावी मैदानमा रहँदा भोट बाँडिने र कांग्रेसकै उम्मेदवार पराजित हुने खतरा बढेको छ ।

यसैगरी, चितवनको चर्चित निर्वाचन क्षेत्र चितवन–३ मा पनि कांग्रेसकै बागी उम्मेदवारी छ । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । यो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’को क्षेत्र हो । तर, यस पटक प्रचण्डले गोरखा–२ गएका छन् ।

चितवन–३ मा कांग्रेसबाट प्रतिनिधिसभातर्फ बागी उम्मेदवारी दिएका दिनेशले माछा चुनाव चिह्न पाएका छन् । उनले सत्ता गठबन्धनका माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध उम्मेदवारी दिएका हुन् । यो क्षेत्रमा एमालेले कोइरालालाई सघाउने निर्णय गरेको छ । कोइराला कांग्रेसमा शेखर–गगन निकट मानिन्छन् । एमालेको समेत समर्थन पाएकाले दिनेश आफुले जित्नेमा विस्वस्त छन् ।

यस्तै, नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी पनि स्वतन्त्र उम्मेदवारी दिएर चुनावीमा मैदानमा छन् । उनी दाङ–१ बाट चुनाव लड्दैछिन् । यो क्षेत्रमा आफ्नो नाम सिफारिस भएतापनि पार्टीले शान्ता चौधरीलाई उम्मेदवार बनाएपछि गंगाले बागी उम्मेदवारी दिएकी हुन् । गंगाको बागी उम्मेदवारीले शान्तालाई चुनौती थपिएको छ ।

घरदैलो अभियानमा व्यस्त गंगाले जनताले आफूलाई मत दिने भन्दै आफ्नो जितमा शंका नभएको बताउँदै आएकी छन् ।अर्कातर्फ पार्टीको आधिकारिक उम्मेदवार शान्ताकाे माहाेल राम्राे नभएकाे एमाले कार्यकर्ता नै बताउन थालेका छन् ।त्यसकारण पार्टीले टिकट वितरण गर्दा नेता चुन्न नसकेको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्