Logo
Logo

कास्की-३ : जीवनलाई गठबन्धनको भर, बैरागीलाई विरासत गुम्ने डर


2.1k
Shares

कास्की । आसन्न निर्वाचनबाट कास्की-३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । किनभने यसभन्दा अघि निर्वाचित कोही पनि मैदानमा छैनन् ।

सत्ता गठनबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ र विपक्षी गठबन्धनबाट नेकपा एमालेका दमोदर पौडेल ‘बैरागी’बीच मुख्य प्रतिस्पर्धा हुनेछ । दुवै पहिलो पटक संसद भवन छिर्ने योजनामा छन् ।

२०७४ सालमा एमालेका जगतबहादुर विश्वकर्मा निर्वाचित भएका थिए । त्यसबेला माओवादीको साथ पाएका उनले ३२ हजार ६ सय ९० मत ल्याएर जिते । कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत पाए । त्यसैले यहाँ एमालेलाई विरासत जोगाउने चुनौती छ ।

अहिलेको निर्वाचनमा समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए ।एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी बनेको छ । कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।

एमालेले राप्रपा, राप्रपा नेपाल, जसपालगायतसँग गठबन्धन गरेको छ । यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् । स्थानीय निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रे कांग्रेसले जितेको छ ।

महानगरको ११ वडामध्ये ३ वडा एमालेले ७ वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा जितेका थिए । वडाध्यक्षका उम्मेदवारको मत हेर्दा सत्ता गठबन्धन अगाडी देखिन्छ । एमाले वडाध्यक्षका उम्मेदवारले २९ हजार ८ सय ५ र कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ८ सय ४६ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका वडाध्यक्षले २ हजार ४ सय र एकीकृत समाजवादीका वडाध्यक्षले ५ सय १ मत पाएका थिए । यस क्षेत्रमा १ लाख १ हजार ७ सय १५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्