सुर्खेत/भेरीगंगा । सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो । चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उनी खेतबारीमा गएका थिए । द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिर्सिएका थिए । तर कात्तिक १२ गते शनिबारको दिन बिहानै बिर्सिएको त्यो आवाज मात्रै सुनिएन, उनको घरमा रुवाबासीसमेत चल्यो । यो घटना हो, कालिकोट तिलागुफा नगरपालिका १० रानाबडाको ।
नजिकै कोदो बारी थियो । शनिबार बिहानै त्यही कोदोबारी नजिकै केटाकेटी खेल्दै थिए । थापा आफ्नो धानबारीमा धान काट्तै थिए । प्रवलालसँगै उनका तीनजना छोरी, श्रीमती र एकजना भाइ नाता पर्ने पनि उनीसँगै थिए । प्रवलालको छोरा सात वर्षीय कमल थापा, उनका भाइ जयलाल थापाका छोरा पाँच वर्षीय मुस्कान थापा, मुस्कानकी बहिनी तीन वर्षीया झरना थापा, चारवर्षीय सरस्वती थापा, दर्शना राना र अर्का एक बालकसमेत सँगै घरनजिकैको कोदोबारीमा खेल्दै थिए ।
चाडबाडको रौनकतामै रहेका परिवार र ती बालबालिकाले खेल्दै गरेको दृश्य देख्दा त्यस्तो कुनै ठूलै दुर्घटना होला भन्ने सोच थिएन प्रवलाललाई । केही हप्ता अगाडिको त्यत्रो बाढी र पहिरोको जोखिममा पनि सुरक्षित राखेका छोराछोरी द्वन्द्व सकिएको १६ वर्षपछि बम विस्फोटमा पर्लान् भन्ने कुनै डर थिएन । तर जुन कुराको डर थिएन त्यही कुराले पीडा दियो ।
भर्खरै चाडबाड सकिएकाले कामको चटारो उत्तिकै थियो । दिनभरि धान काटेर सक्ने योजना बनाएका प्रवलालको कानमा एक्कासि बम बिस्फोटको आवाज आयो । करिब बिहानको साढे सात बजेको थियो । बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो । धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन । धुवाँ देखेपछि उनलाई छाँगाबाट खसेजस्तो भयो । उनको होस उड्यो । धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिए । जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ । आफ्नो छोरासहित पाँचजना घाइते देखेपछि उनले केही सोच्नै सकेनन् । एक बालक भने अलि टाढा भएकोले कुनै चोट लागेको रहेनछ । प्रवलाल भन्छन्, ‘सोच्दै नसोचेको घटना भयो, म त त्यो घटना सपना हो कि भन्ने जस्तो मान्छु, तर हामीलाई त्यो १६ वर्षसम्म भएको द्वन्द्वमा केही नभएको शान्ति भएपछि भयो ।’
स्थानीयवासीले वडासदस्यलगायत जनप्रतिनिधिहरूलाई घटनाको विषयमा जानकारी गराए । छिमेकीहरू पनि के भयो ? भन्दै घटनास्थलमा आत्तिँदै आए । प्रहरीलाई पनि जानकारी गराइयो ।
तिलागुफा नगरपालिकाको पहलमा हेलिकोप्टरमा तत्काल घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा करिब ११ बजे ल्याइयो । अस्पतालमा पुगेपछि पनि चार वर्षीय सरस्वती रानाको ज्यान बचाउन नसकिएकामा प्रवलालले दुःख व्यक्त गरे ।
‘मेरो छोरा र भाइको छोराको अपरेसन भएको छ’, उनले भने, ‘अहिलेसम्म खर्च त केही गर्नुपरेको छैन । पीडाले मुटु भतभती पोलिरहेको छ, तर मृतक र घाइतेहरूको विषयमा प्रदेश सरकार र सङ्घीय सरकार पनि गम्भीर भएनन ।’ गम्भीर घाइते दर्शना राना अहिले पनि प्रदेश अस्पताल सुर्खेतको आयुसियु कक्षमा छिन् । उनको अवस्था स्थिर छ । अन्य दुईजनाको अपरेसन भएको छ भने दुई जनाको मृत्यु भएको छ ।
तत्कालीन सशस्त्र द्वन्द्वको बेलामा अन्य दुःख पाइए पनि आफ्नो ज्यान जोगाएर बसेको यत्रो वर्षपछि त्यही द्वन्द्वले पीडा दिएको पीडितहरू बताउँछन । छोराछोरीहरू कहिले निको हुनेहुन् कुनै टुंगो छैन । कमलको दुवै खुट्टा र एउटा हातमा चोट छ । मुस्कानको भने एउटा खुट्टामा मात्रै चोट छ । दुवै छोरालाई एक्लै उनले हेरचाह गरिरहेका छन् ।
भाइ जयलाल छोरी गुमाएको पडिामा अस्पताल आउन सकेनन् । उनको छोरालाई पनि प्रवलालले हेरविचार गरिरहेका छन् । उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई पूर्ण उपचार, उच्चशिक्षा तथा अवस्था हेरेर रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरे ।
स्थानीय तहले सबै उपचार खर्च व्यहोरेको भए पनि यसमा प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘यसको जिम्मा राज्यले लिनुपर्छ । कसका लागि केका लागि द्वन्द्व भएको थियो ? शान्ति भइसकेपछि पनि हामी सोझा नागरिकले छोरा–छोरी गुमाउनुपर्ने किन ?’, उनी प्रश्न गर्छन् ।
बिस्फोट भएको ठाउँ घर नजिकै हो । आँफैले रोपेको कोदोबारी, कुलो पनि त्यही बारीबाट बग्छ । प्रवलाल जहिले पनि त्यही कोदोबारी गोडमेलमा जान्थे । तर बिस्फोटक पदार्थ कहाँबाट आयो भन्ने उनलाई जानकारी छैन ।
बिस्फोटक पदार्थका विषयमा प्रहरीले अनुसन्धान गर्दै गरेको भए पनि द्वन्द्वकालको समयमा लुकाएर राखिएको बिस्फोटक पदार्थ गत महिनामा परेको झरीले बगाएर ल्याएको वा कसैले फालिदिएको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।
अनुसन्धानका क्रममा उक्त बिस्फोटक पदार्थ पुरानै सकेट बम भएको पत्ता लागेको प्रहरीले बताएको छ । बालबालिकाहरूले खेलाउने क्रममा बिस्फोट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिए ।
तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको र राहत तथा क्षतिपूर्तिको विषयमा प्रदेश सरकार तथा संघीय सरकार गृह मन्त्रालयमा समेत समन्वय गरिहेको जानकारी दिए । उनले भने, ‘घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको छ, उचित क्षतिपूर्तिका विषयमा हामीले प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।’