Logo
Logo

रूस बिना खाद्यान्न सम्झौता जारी राख्नु ‘जोखिमयुक्त’


2.6k
Shares

एजेन्सी । सामुद्रिक सुरक्षा करिडोरमार्फत महत्वपूर्ण युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौताबाट पछि हटेपछि रूसले सोमबार आफ्नो सहभागिता बिना सम्झौता कार्यान्वयन जारी राख्नु ‘जोखिमयुक्त’ हुने बताएको छ ।

‘रूसले यी क्षेत्रहरूमा नेभिगेसनको सुरक्षाको ग्यारेन्टी गर्न असम्भव हुने बारेमा कुरा गरिरहेको अवस्थामा, यस्तो सम्झौता सम्भव छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने, यसले फरक स्वरूप लिन्छ र यो धेरै जोखिमपूर्ण हुनसक्छ ।’

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा आइतबार रूसले आफ्नो सहभागितालाई स्थगन गरेको थियो । रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्वीटमा भनेका छन्, ‘रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्र्ने सुनिश्चितता गरिएको छ ।’

संयुक्त राष्ट्रसङ्घ र टर्कीसँग रूस र युक्रेनबीच भएको खाद्यान्न सम्झौताले ‘ब्ल्याक सी’का तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको छ । भोकमरीको आसन्न खतराको सामना गरिरहेका विश्वका गरिब राष्ट्रका लाखौं मानिसहरूले यो अति आवश्यक मात्रामा खाद्यान्न बजारमा पुग्ने र खाद्यान्नको मूल्य फेरि एकपटक किफायती हुन सक्ने समाचार सुनेर राहतको सास फेरेका समय रूसको यो निर्णय आएको थियो ।

युक्रेन र रूस दुवै विश्वमा खाद्यान्नको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् । नाकाबन्दीका कारण विश्वभर खाद्यान्नको मूल्य बढेको छ । रूस र युक्रेनबीच खाद्यान्नलाई निर्यात गर्ने सम्बनधमा भएको यो सम्झौता अर्को महिनादेखि सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्