Logo
Logo

एमालेको अप्ठेरो : खतरामा ओली, देशभर निराशाको बादल


53.5k
Shares

काठमाडौं । देश निर्वाचनको माहोलले तातिरहेको छ । तर, नेकपा (एमाले)लाई आफैँभित्रको रडाकोले घेरेको छ । यसै पनि सत्ता गठबन्धनको भार, त्यसमाथि आफ्नै नेता कार्यकर्ताको मारामार ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा एमालेले गरेको चुनावी तालमेलका नाममा छोडेका प्रत्येक निर्वाचन क्षेत्रमा तालमेलको समर्थनप्राप्त उम्मेदवारलाई एमालेहरूले नै असहयोग गरिरहेका छन् । अर्कातिर, पार्टीकै चुनाव चिन्हबाट उम्मेदवार बन्नेहरू ‘एमालेको’ भन्दा बढी ‘केपी ओलीको’ हुनाले कार्यकर्ता पंक्ति उत्साहपूर्वक परिचालित छैन ।

उम्मेदवारहरूको स्वीकार्यकतामा समस्या आउँदा कतिपय एमालेको सुदृढ जनाधार भएका क्षेत्र पनि गुम्ने स्थिति बनेको छ । अरु त अरु, स्वयं पार्टी अध्यक्ष केपी ओलीले झापा–५ बाट चुनाव जित्नका लागि झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भोट हाल्न निर्देशन दिनुपर्ने स्थितिमा पुगेका छन् । उनले ‘एमालेको इज्जत जोगाउनका लागि राप्रपालाई भोट हाल्नुपर्ने’ भाषण गरेका थिए ।

कार्यकर्ता प्रश्न गर्दैछन्, ‘राप्रपालाई जिताएर जोगिने एमालेको इज्जत कस्तो होला ?’ ओलीले पार्टीको हैन, आफ्नै इज्जतको लागि राप्रपाको फेरो समाउनुपरेको छ । किनभने, उनको निर्वाचन क्षेत्रको सबैभन्दा बढी मतदाता भएको दमक नगरपालिकामा गत स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनको समर्थनमा राप्रपाका राम थापाले मेयर जितेका थिए ।

मंसिर ४ को निर्वाचनका लागि उनले नैतिक रुपमा एमालेका लागि भोट माग्न नसकिने बताइसकेका छन् । राप्रपालाई खुशी पार्नका लागि ओलीले ‘लिङ्देनलाई जिताउनु भनेको एमालेको इज्जत बचाउनु हो’ भनेर भाषण गरिरहेका छन् ।

यसरी एमाले आफैँले गरेको चुनावी विश्लेषणमा १ नं. प्रदेशभरि सबभन्दा बलियो निर्वाचन क्षेत्रका रुपमा झापा–५ लाई लिएको थियो । तर, त्यहीँ पनि ‘इज्जत जोगाउने’ स्थिति भएपछि उक्त प्रदेशका बाँकी जिल्लामा शून्यप्रायः सम्भावनाबीच चुनावी यात्रा चलिरहेको छ ।

झापा– ५ पछिको बलियो भनिएको मोरङको क्षेत्र नं. १ मा एमालेले चुनावकै मुखमा विद्रोह झेल्नुपरेको छ । त्यहाँ एमालेका ऋषिराम पोखरेलले टिकट पाएपछि १ नं. प्रदेश एक कमिटीका सचिवालय सदस्य रामकुमार बस्नेत, प्रतापकुमार थापा, मधु गुरुङ, राजकुमार बस्नेत र मोरङ जिल्ला कमिटी सदस्य गीता शिवाले एमाले परित्याग गरेका छन् ।

ओलीका ‘भित्रिया’ भनेर चिनिने पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल मोरङ–३ मा उम्मेदवार छन् । त्यहाँ राप्रपाका उम्मेदवार तथा अभिनेत्री रेखा थापा र कांग्रेसका डा.सुनील शर्माबीच टक्कर छ । भानुभक्त तेस्रो स्थानमा पुग्न पनि गाह्रो पर्ने अवस्थामा छन् ।

मोरङकै क्षेत्र नं. ६ मा कुनै बेलाका ‘भाइरल मन्त्री’ लालबाबु पण्डितको पक्षमा लहर छैन । उक्त क्षेत्रको प्रदेशसभा सदस्यमा जसपासँग तालमेल गरेर अन्तिममा एमालेले आफ्नै उम्मेदवार खडा गरेपछि चुनावी वातावरण बिग्रिएको हो ।

एमालेको सदाबहार क्षेत्र मानिने सुनसरी–१ मा जसपासँग तालमेल गर्ने क्रममा अशोक राई आधिकारिक उम्मेदवार बनेपछि त्यहाँ पनि विद्रोह भएको छ । प्रदेश कमिटी सदस्य तथा धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका छन् । फलतः एमाले आफू पनि सकिने, जसपालाई पनि सिध्याउने स्थितिमा पुगेको छ ।

मधेस प्रदेशभमा एमालेको सबभन्दा बलियो क्षेत्र भनिएको धनुषा–३ मा व्यापारी उपेन्द्र महतोकी बहिनी तथा एमाले नेता रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतो उम्मेदवार भएका छन् । तर, त्यहाँ सत्ता गठबन्धनका अनिलकुमार झाको उम्मेदवारीका कारण जुली छायाँमा परेकी छन् ।

स्थानीय निर्वाचनको परिणामअनुसार सबभन्दा बलियो कांग्रेस र त्यसपछि लोसपाको जनाधार देखिएको उक्त क्षेत्रमा लोसपाका नेता झा सत्ता गठबन्धनका उम्मेदवार बनेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् ।

जनकपुरसहित नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनौजी गाउँपालिका र विदेह नगरपालिकाको एउटा वडा उक्त क्षेत्रमा पर्छ, जहाँ एमालेको पक्षमा नगण्य जनमत छ ।

यसबाहेक मधेस प्रदेशमा एमालेले आश गरेको क्षेत्र सिराहाको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेले राप्रपासँग तालमेल गर्न नसक्दा सत्ता गठबन्धनका माओवादी उम्मेदवार विश्वनाथ साह लीलाका लागि भारी भएका छन् । राप्रपाले गोवर्धन तत्मालाई उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशमध्ये एमालेले बलियो क्षेत्रका रुपमा आँकलन गरेको चितवन– १ मा सुरेन्द्र पाण्डेका विरुद्ध एमालेकै एउटा समूह सक्रियताका साथ परिचालित भएको छ । ‘लोकप्रिय’ भनिने कृष्णभक्त पोखरेललाई सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले क्षेत्र नं. २ मा चुनौति दिइरहेका छन् ।

काठमाडौं उपत्यकाका १५ मध्ये एमालेले दुई सीटमा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयास गरेको छ । तर, सत्ता गठबन्धनका विवादहरू हल भई केही उम्मेदवारी निस्क्रिय पारिएका कारण एमाले प्रत्यक्षतर्फ उपत्यकामा शून्यमा झर्ने सम्भावना देखिन्छ ।

लुम्बिनी प्रदेशमा आ–आफ्नै झगडाका कारण एमाले समस्यामा छ । प्रदेशभरि सबभन्दा सुरक्षित क्षेत्र दाङको २ हो । त्यहाँबाट महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उपाध्यक्ष विष्णु पौडेलले एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजीपछि खुशीयाली त मनाए । तर, सत्ता गबठन्धनले उनको क्षेत्रमा जनमुक्ति पार्टीको उम्मेदवारलाई समर्थन गरेपछि फेरि पनि उनका निम्ति उक्त क्षेत्रमा जित निकाल्न मुस्किल पर्ने देखिएको छ ।

चुनावकै मुखमा प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, सनोजकुमार यादव, जिल्ला कमिटी सदस्य मुलायम सिंह यादव, रोहिणी गाँउपालिकाका सचिव इन्द्रजीत राय, सदस्य जाहिद हुसेनसहित ३२ जनाले एमाले परित्याग गरेका छन् । यो क्रम जिल्लाभरि फैलिएपछि स्वयं विष्णु पौडेलका निम्ति चुनाव भारी भएको छ ।

गुल्मीको क्षेत्र नं. १ सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीका विरुद्ध नेपाली कांग्रेसको बागी उम्मेदवार फिर्ता भएपछि त्यहाँबाट एमालेका गोकर्ण विष्ट अप्ठेरोमा परेका छन् ।

कर्णाली प्रदेशभरिमा एमाले जित्न सकिने भनेर कुनै पनि निर्वाचन क्षेत्र औँल्याउन सकेको छैन । उम्मेदवारी चयनको विषयलाई लिएर जिल्ला–जिल्लामा समस्या भएपछि आफ्नै नेता र कार्यकर्ता फकाउनुपर्ने स्थितिमा एमाले पुगेको छ ।

एमालेले सहज जिल्लाका रुपमा चित्रित गरेको सुदूरपश्चिमको अछाममा चुनावको मुखैमा भएको विद्रोहका कारण उसको सहजता समाप्त भएको छ । जिल्ला कमिटीका ४१ जना सदस्य र साँफेबगर नगर कमिटीका ८१ जनाले पदबाट राजिनामा दिएका छन् ।

क्षेत्र नं १ को क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक तथा जिल्ला सचिवालय सदस्य प्रकाश शाह, उपसंयोजक केशर मियाँ, जिल्ला सदस्य दूतकला बिष्ट, बालगिरी कुँवर, टंक रावलसहित १ सय २२ जनाले एमाले परित्याग गरेका छन् । अहिले त्यहाँका पुराना एमालेहरू एकीकृत समाजवादीका उम्मेदवार तथा श्रममन्त्री शेरबहादुर कुँवरको प्रचारमा देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्