Logo
Logo

सशस्त्रमा बढुवा अनिश्चित


630
Shares

काठमाडौं । अनावश्यक चलखेलका कारण सशस्त्र प्रहरीको उच्च तहमा बढुवा अनिश्चित बनेको छ । सशस्त्रमा डिआइजीका चार दरबन्दी रिक्त छन् । महिनौँदेखि ती पद रिक्त भए पनि जुनियर एसएसपीको चलखेलले बढुवा प्रक्रिया सुरु हुनसकेको छैन ।

तीन पद पहिलेदेखि नै रिक्त रहेकोमा वंशी दाहाल एआइजीमा बढुवा भएपछि अर्काे पद खाली भएको छ । सि.सं. २ का एसएसपी दीपेन्द्र कुँवर जसरी पनि अहिले नै डिआइजी हुन खोजेपछि सशस्त्रमा भाँडभैलो भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ब्याच नै टपेर बढुवा नगर्ने पक्षमा भएकाले उनले बढुवा प्रक्रिया रोक्दै आएका छन् ।

रिक्त पदमा सि.सं. १ का एसएसपीहरु प्रमुख दाबेदार हुन् । सो ब्याचका एसएसपीहरुलाई उछिनेर कुँवर बढुवा हुने खेलमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीयसचिव भानु देउवाका बहिनी ज्वाइँ भएकाले प्रधानमन्त्रीको शक्ति दुरुपयोग गरी बढुवामा लागेका हुन् । यसअघि स्टाफ कलेजको प्रवेश परीक्षामै फेल भएकामा शक्ति दुरुपयोग गरी सेनामा गएर स्टाफ कलेज गरेका थिए । एसएसपी बढुवामा पनि अस्वाभाविक छलाङ मारेका थिए । अहिले डिआइजी बढुवामा समेत संगठनको सिष्टम बिगार्न खोजेपछि उनी संगठनभित्र अलोकप्रिय बनेका छन् ।

उनकै कारण अन्य दर्जनौँ अधिकृतको बढुवा रोकिएको छ । बढुवा रोकिँदा सशस्त्रको कामकारबाही नै प्रभावित भएका छन् । सुदूरपश्चिम बाहिनीमा जाने डिआइजी नभएपछि हालै एसएसपी विश्व भट्टराईलाई पठाइएको छ ।

सशस्त्र प्रहरीमा इन्सपेक्टर र डिएसपीको बढुवामा ठूलो समस्या छ । इन्सपेक्टरहरु १६ वर्षदेखि एउटै पदमा छन् । डिएसपीहरु पनि १० वर्ष पुग्न लागिसकेको छ । बढुवाको यस्तो समस्या रहेको संगठनमा कुनै व्यक्तिका कारण रिक्त पदमा पदपूर्ति नहुँदा तल्लो तहसम्मका प्रहरी यसबाट पीडित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्