Logo
Logo

आजदेखि अन्डरग्राउन्ड खाली गराउँदै पोखरा महानगर


441
Shares

पोखरा । पोखरा महानगरपलिकाले आजदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले सोमबार सूचना जारी गरी आज (मंगलबार) देखि अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो ।

‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि गर्न/गराउन सम्बन्धित घरधनी र व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटक-पटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजन विपरीतका सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगर आफैले खाली गर्ने व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ ।’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।

तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा मेयर आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनीसमेत दिएका थिए ।

पोखरामा २ सय ५० भन्दा बढी भवन अन्डरग्राउन्ड सहितका छन् । तर, त्यसमध्ये अहिले आधाभन्दा बढीले महानगरको सूचना पछि आफैं अन्डरग्राउन्डमा बनेका संरचना हटाइसकेका छन् । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपसम्म सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्