Logo
Logo

‘कान्छी भाउजू’सँग केपी ओलीको ठूलो रिस, ठूलै गुनासो


10.9k
Shares

काठमाडौं । नेपाली राजनीतिमा दुर्गा पौडेलको छुट्टै पहिचान बनिसकेको छ । उनी राष्ट्रिय जनमोर्चाका नेता मात्रै होइनन्, निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट संसद् पुगेका दुर्गाले आफ्नो र पार्टीको धारणा बलियो र स्पष्टसँग राखेर थप राजनीतिक पहिचानमा बनाए ।

यसरी नेपाली राजनीतिमा दुर्गाको छुट्टै पहिचान बनेको छ । तर, बुधबार काठमाडौंमा आयोजित एक राजनीतिक कार्यक्रममार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने दुर्गालाई ‘कान्छी भाउजू’ भनेर सम्बोधन गरे ।

पारिवारिक कुरा गर्ने हो भने दुर्गा कम्युनिष्ट हस्ती मोहनविक्रम सिंहका कान्छी श्रीमती हुन् । मोहनविक्रम समकालीन कम्युनिष्ट नेताका पनि नेता भएकाले उनका श्रीमती दुर्गालाई भाउजू भन्ने सामाजिक अधिकार ओलीसँग रहला !

दाइका श्रीमती साइनोमा भाउजू पर्ने हुनाले ओलीले दुर्गालाई ‘कान्छी भाउजू’ भन्नुमा अप्ठ्यारो मान्नुपर्ने त हुँदैन । तर, पूर्वप्रधानमन्त्री तथा शीर्ष दलका अध्यक्षले सार्वजनिक कार्यक्रमबाटै ‘कान्छी भाउजू’ भनेर सम्बोधन गर्दा चाहिँ सुन्नेले अप्ठ्यारो माने ।

ओलीमा कान्छी भाउजूसँग ठूलै रिस र गुनासो देखियो । आफ्नो सरकार ढाल्न पाँच दलीय गठबन्धन बनाएकोमा ओलीलाई धेरै नै रिस उठेको रहेछ, दुःख लागेको रहेछ । त्यसैले भने– ‘हामीले नै भोट हालेर जिताएको कान्छी भाउजूसमेत मेरो सरकार ढाल्न लागिपरे ।’

प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विगठन गरेपछि ओलीको कदमविरुद्ध बनेको गठबन्धनमा राजमो पनि सहभागी भयो । ओलीलाई यसैमा चित्त दुखाइ र रिस रहेछ ।

ओलीले दुर्गाको पार्टी राष्ट्रिय जनमोर्चालाई ‘एक सिटे च्याँखे पार्टी’ भन्न सम्म भ्याए । एक ‘सिटेहरुले ओलीको सरकार ढालियो भनेर बुरुक्क बुरुक्क उफ्रेको पनि देखियो’ ओलीले राजमो र राजमोका निवर्तमान सांसद दुर्गाप्रति रोष व्यक्त गरे ।

दुर्गा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनको समर्थनमा प्यूठान–१ बाट विजयी भएका थिए । त्यसैले ओलीले ‘हामीले भोट हालेर जिताएको कान्छी भाउजू पनि हाम्रै विरुद्धमा लागे’ भनेका हुन् ।

ओलीको ‘कान्छी भाउजू’ सम्बोधन सुनौं–

प्रतिक्रिया दिनुहोस्