Logo
Logo

यी हुन् आफैलाई भोट हाल्न नपाउने सिन्धुपाल्चोकका तीन उम्मेदवार


945
Shares

काठमाडौं । मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका केहि उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । आफ्नो मतदाता भएको क्षेत्र छाडेर अन्य क्षेत्रमा गएर उम्मेदवार बनेपछि ती उमेदवारहरुले आफैलाई भोट हाल्न नपाउने भएका हुन् ।

यस्तोमा सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलका तीन उम्मेदवारले आफैलाई भोट हाल्न पाउनेछैनन् । नेकपा एमालेबाट सिन्धुपाल्चोक–२ प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेका अमान सिं तामाङले यो निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने भएका छन् ।

उनको सिन्धुपाल्चोक–१ प्रदेश सभा ‘ख’मा मतदाता नामवली रहेको छ । त्यस्तै सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदवार बनेका मोहनबहादुर बस्नेतले पनि यो निर्वाचनमा आफैलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामवली सिन्धुपाल्चोक–१ को बाह्रविसे नगरपालिका–४ मा रहेको छ ।

२०४८ सालदेखि नै क्षेत्र नम्बर १ बाट उम्मेदवार हुदै आएका उनले १ नम्बर क्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन् । त्यस्तै गठबन्धनबाट सिन्धुपाल्चोक–१ प्रदेश सभा ‘ख’ मा उम्मेदवार भएका माओवादी उम्मेदवार सरल सहयात्रीले पनि आफैलाई मतदान गर्न पाउनेछैनन् । उनको प्रदेश सभा ‘क’ स्थित बाह्रविसे नगरपालिकाको वडा नम्बर–८ मा मतदाता नामवली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्