Logo
Logo

सन्दीप लामिछाने प्रकरण- अदालतले माग्यो पिडित किशोरीको उमेर खुल्ने प्रमाणको अभिलेख


2.9k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि आदेश दिएको छ । शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै थप प्रमाण संकलन गर्न पनि अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप पक्षले उठाएको किशोरीको उमेर बारे थप प्रमाण संकलन गर्न भनेको हो । पिडित किशोरीको उमेर सम्बन्धमा आदालतका पेश भएका प्रमाणहरुको सक्कलप्रति सम्बन्धित कार्यालयबाट झिकाउन अदालतले आदेश दिएको हो ।

गत मंगलबार सन्दीपले बयान दिँदा अदालत समक्ष किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेका थिए । पिडक लामिछानेले बयान साथमा किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेका थिए । सन्दीपले किशोरीको जन्मदर्ता, बसाईसराईको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेश गरेका थिए । अदालतले ती कागजातको वैधानिकता बारे थप प्रमाण संकलन गर्न भनेको हो ।

सरकारी वकिल कार्यालयलाई प्रहरी मार्फत ती कागजात सम्बन्धित कार्यालयबाट मगाउन आदेशमा भनिएको छ । जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रतिसहित ल्याउन अदालतले भनेको हो । यस्तै, किशोरीको नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको छ । किशोरीको नागरिकतामा भने १७ वर्ष २ महिना मात्रै पुगेको देखिन्छ ।

यस्तै अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय मार्फत झिकाएको छ । उनीहरुलाई मंसिर ७ गते उपस्थित गराउन जिल्ला अदालतले भनेको हो । सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्