एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै गान्धी बाहेक नेता जयराम रमेश र सुप्रिया श्रीनेट विरुद्ध पनि उजुरी परेको हो ।
कन्नड फिल्म ’केजीएफ–२’ को संगीत बिना अनुमति प्रयोग गरेको आरोपमा राहुल गान्धी विरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
एमआरटी म्युजिकको व्यवस्थापन सम्हाल्ने एम नवीन कुमारले शुक्रबार बैंगलोरको यशवंतपुर पुलिस स्टेशनमा प्रतिलिपि अधिकार कानून अन्तर्गत उजुरी दिएका हुन् ।
‘जयराम रमेशले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट दुई भिडियोहरू पोस्ट गरेका थिए जसमा दुई प्रसिद्ध ’केजीएफ–२’ गीतहरू अनुमति बिना प्रयोग गरिएको छ । यी गीतहरूको संगीत अधिकार एमआरटी म्युजिकसँग छ,’ उजुरीमा भनिएको छ ।
राहुल गान्धी अहिले आफ्नो १५० दिनको ’भारत जोडो यात्रा’ मा छन्। उनको यो यात्रा दक्षिण भारतबाट सुरु भएर कश्मीरसम्म जानेछ । यस भ्रमणबाट कांग्रेसले आफ्नो राजनीतिक जग बलियो हुने विश्वास लिएको छ ।