Logo
Logo

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति


378
Shares

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरे ।

राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताए । स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताए । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरे । यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताए । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरे । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उहाँले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिए ।

सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताए । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गरे ।

वैज्ञानिक अध्ययन अनुसन्धानका साथै आफ्नै आँखाले पनि जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा देख्न पाइएको उनको भनाइ थियो । वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्