Logo
Logo

कैलाली-५ : गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर


1.7k
Shares

सुदूरपश्चिम । आसन्न निर्वाचनको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन् । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताले फरक पार्टीका उम्मेदवारलाई भोट दिनुको साटो स्वतन्त्रलाई मत दिने आशंका उनीहरुले गर्दै आएका छन् ।

स्वतन्त्र उम्मेदवार भने राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तानेर निर्वाचन जित्ने दाउमा छन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र,) नेकपा (एकीकृत समाजवादी)सहितले गठबन्धन गरेका छन् भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले पनि एकआपसमा तालमेल गरेका छन् ।

कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)मा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरिरहँदा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा मुख्य राजनीतिक दलका प्रत्यासीका लागि चुनौती बनेका छन् ।

पाँच वर्षअघिको चुनावमा यसै क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेस नेत्री डा. आरजु राणा देउवालाई अन्तर्घात गरी पराजित गरेको भन्दै ओझालाई कांग्रेसको कारबाही गरेको थियो ।

उनले पाउने मतका आधारमा चुनावी परिणाम प्रभावित हुनसक्ने एकथरीको विश्लेषण छ । कांग्रेसका प्रत्यासी डिल्लीराज पन्त भने दलीय व्यवस्थामा स्वतन्त्रको हैसियत धेरै नहुने भएकाले आफ्ना लागि चुनौती नरहेको दाबी गर्छन् । उनले भने, ‘आम कांग्रेसको मतसँगै गठबन्धन दल समर्थितको मत आउँदा आफूलाई चुनाव जित्नेमा विश्वस्त छु ।’ यसै क्षेत्रबाट प्रत्यासी रहेका नेकपा एमाले नेता नारदमुनी रानाले पनि आफू निर्वाचन जित्ने दाबी गर्छन् ।

स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले भने राजनीतिक दलप्रति बढ्दै गएको दिशाहीनता र निराशाका कारण मतदाताले स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको दाबी गरे ।

यस क्षेत्रमा टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीको उम्मेदवारी रद्द भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ । साथै स्वतन्त्र उम्मेदवारमा गगनबहादुर धामी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, तमलोपाका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी र दर्लामीमगर पनि प्रत्यासी छन् ।

प्रदेशसभा १ मा माओवादीको तर्फबाट रमेश धामीले टिकट पाउँदा माओवादीकै वागी उम्मेदवार रमेश बस्नेत र प्रदेशसभा ‘ख’ मा कांग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले टिकट पाउँदा कांग्रेसबाट राजीनामाको घोषणा गर्दै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश २ मा एमालेका दुर्गाप्रसाद जोशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लोहार, नागरिकउन्मुक्ति पार्टीका गोठु चौधरी, नपाली कांग्रेस बिपीका दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर, राप्रपाका शिवराज भण्डारी पनि प्रतिस्पर्धी छन् ।

प्रदेशसभा १ बाट एमालेको तर्फबाट टिकट पाएका यज्ञराज बाँस्तोलाको टिकट अन्तिम अवस्थामा खोसेर नेपालु चौधरीलाई दिइएपछि सो पार्टीमासमेत असन्तुष्टि छ ।

बाँस्तोलाले पार्टी नै परित्याग गरेका छन् । प्रदेशसभा १ का प्रत्यासी राप्रपाका पुष्करदत्त भट्ट र नागरिकउन्मुक्ति पार्टीका श्रीराम चौधरी पनि बलियो प्रतिस्पर्धी छन् । कैलारी गाउँपालिकाका दुई वडा र धनगढी उपमहानगरपालिकाका १९ वडा समावेश गरिएको क्षेत्र ५ का वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षले २२ हजार सात सय ७९, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार छ सय ५४, नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार नौ मत पाएका थिए । एमालेका वडाध्यक्षले १७ हजार चार सय २०, राप्रपाका वडाध्यक्षले दुई हजार तीन सय ६१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्