Logo
Logo
रूपन्देही-३

प्रतिस्पर्धी दलमा उतारचढाव, ‘ग्रीन जोन’मा बालकृष्ण


25.4k
Shares

भैरहवा । निर्वाचनको मिति नजिकिँदै जाँदा रूपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाँणले जितको आधार तथा दायरा फारकिलो पार्दै गएको विश्लेषण हुन थालेको छ ।

पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका कांग्रेस नेता खाँण निर्वाचनको सुरुवाती चरणमा गणितीय हिसाबमा प्रतिस्पर्धी एमाले, जसपा र राप्रपा गठबन्धनका उम्मेदवार दीपक बोहोराभन्दा तल रहेको विश्लेषण हुने गरेको थियो । 

निर्वाचन माहोल तात्दै जाँदा भने गणितीय हिसाबमा बोहोराभन्दा खाण अगाडि देखिन थालेका हुन् । घनश्याम भुसाल एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार बन्नु, घनश्यामलाई गठबन्धनले समर्थन गर्नु, घनश्यामको विद्रोहले एमालेका मत गठबन्धनतर्फ सार्नु र जनमुक्ति पार्टीको समर्थन पाउनले खाँण बलियो हुँदै गएको विश्लेषण हुन थालेको हो । 

यसबीचमा चुनावी अभियानका क्रममा अन्य पार्टी र स्वतन्त्र गरी करिव ३५ सय कार्यकर्ता कांग्रेस प्रवेश गरेको कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङ दाबी गर्छन् । यस आधारमा पनि खाँण बलियो बन्दै गएको दाबी गरिएको हो ।

गठबन्धनको साथ र प्रतिस्पर्धी राजनीतिक दलका उम्मेदवारको आन्तरिक किचलोका कारण सरल स्वभावका खाँण बलियो देखिएका छन् । 
खाँडका मुख्य प्रतिस्पर्धी हुन्, एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहरा । राजनीतिका चतुर खेलाडी मानिने बोहराले एमालेको समर्थन नै पाए पनि यसपटक सहज नहुने विश्लेषण हुने गरेको छ ।

कस्तो छ हिसाबकिताब ?
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत अनुसार कांग्रेसले रुपन्देही–३ मा ३४ हजार १ सय ५३ मत पाएको थियो । एमालेले भने २९ हजार ४८ मत प्राप्त गरेको थियो । 

त्यस्तै, राप्रपाले १३ हजार ३ सय ९७, जसपाले ६ हजार एक सय ८३, माओवादीले २  हजार ८ सय ८१, लोसपाले २ हजार १ सय ७४ र नेकपा एकीकृत समाजवादीले ९ सय ७७ मत प्राप्त गरेको थियो । 

अहिले सत्तागठबन्धनमा कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादी छन् । जनमुक्तिले आफ्ना उम्मेदवारलाई निष्कृय पार्दै खाणलाई सहयोग गरिसकेको छ ।

एमालेसँग राप्रपा र जसपा छन् । यसलाई आधार मान्दा सत्तागठबन्धनसँग ४० हजार १ सय ८५ मत छ । एमालेसँग ४८ हजार ६ सय २८ मत छ । यस आधारमा एमाले सत्तागठबन्धनभन्दा आठ हजार चार सय ४३ मतले अगाडि थियो । 

तर अघिल्लो पटक यसै क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित घनश्याम भुसालले एमाले छाड्दा रुपन्देही ३ मा एमालेका कम्तीमा ४ हजार मत प्रभावित भएको अनुमान गरिएको छ । जुन मतको समर्थन खाँणले पाउने गठबन्धनको आशा रहेको छ ।

४ हजार मत खाँणलाई आउँदा बोहोराको चार हजार मत घट्ने र यही मतका आधारमा खाँण र बोहोरा बराबर अवस्थामा आउने हिसाब हुने गरेको छ ।

यसबाहेक खाणलाई जनमुक्तिको समर्थन सँगै कम्तिमा ३५ सय मत बढ्ने हिसाब गरिएको छ । जनमुक्तिले स्थानीय तहमा निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा यस क्षेत्रमा दुई वटा वडा सदस्य जितेको छ । 

रुपन्देही–३ मा आफ्ना ७५ सय क्रियाशील सदस्य रहेको जनमुक्तिका केन्द्रीय सचिव मजिव अली दाबी गर्छन् । उनी भन्छन्, यो गृहमन्त्री खाँणका लागि प्लस मत हो ।

प्रतिक्रिया दिनुहोस्