Logo
Logo

सशस्त्रमा जुनियर बाहिनीपतिको चुरिफुरी


11k
Shares

काठमाडौं । चुनावको मुखमा सुदुरपश्चिमस्थित सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा भएको छ । गृह मन्त्रालयले डिआइजी दुर्गा भट्टराईलाई हटाएर एसएसपी बिश्वकुमार भट्टराईलाई सुदुरपश्चिमस्थित बैद्यनाथ बाहिनीको प्रमुख बनाएको छ ।

प्रधानमन्त्रीको प्रदेशमा यसरी चुनावको मुखमा बाहिनीपति हेरफेर हुनुलाई अनौठो मानिएको छ । अझ जुनियर एसएसपीलाई बाहिनीपति बनाइएकोमा समेत सशस्त्र प्रहरीभित्र धेरैले आश्चर्य मानेका छन् । भट्टराई सि.सं. नम्बर २ का एसएसपी हुन् । उनीभन्दा १५ जना सिनियर एसएसपी हुँदाहुँदै उनलाई बाहिनीपतिको जिम्मेवारी दिइनुले सशस्त्र प्रहरी बलको साख गिरेको छ । त्यसमाथि सि.सं. १ का एक जना पनि एसएसपीले बाहिनी चलाउने अवसर पाएका छैनन् । यस्तो अवस्थामा उनलाई किन चुनावको मुखमा बाहिनीको जिम्मा दिइयो भन्ने प्रश्न उठेको छ ।

स्रोतका अनुसार डिआइजी भट्टराईबाट प्रधानमन्त्रीनिकट समूहको स्वास्र्थ पूरा हुन नसकेपछि चुनावको मुखमा उनलाई सुरक्षा परिषद्मा सरुवा गरिएको हो । खासगरी भारतसँगको सीमा नाकामा सेटिङअनुसार भट्टराई नचलेपछि उनलाई हटाइएको स्रोतले बताएको छ ।

सुदुरपश्चिम बाहिनीमा एसएसपी भट्टराई पुगेसँगै सबैजसो नाकाबाट तस्करी मौलाएको छ । केहीदिन अघि मात्र ३५ नम्बर गण कञ्चनपुरले झन्डै डेढ सय क्विन्टल चिनी बरामद गरेको थियो । तर, चिनी बोक्न प्रयोग भएको ट्रक मोटो रकम असुलेर कारबाही बिना छाडिएको स्रोत बताउँछ ।

चलखेलका आधारमा बाहिनी जान सफल भएपछि एसएसपी भट्टराईले चुनावी सुरक्षा भन्दा नाकामा हुने आम्दानीमा बढी ध्यान दिएको स्रोत बताउँछ । एक बिओपी इन्चार्जका अनुसार एसएसपी भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको नाममा मातहतबाट पैसा माग्न थालेका छन् । मधेस प्रदेश र प्रदेश नम्बर १ का नाकाबाट त सेटिङमा तस्करी भइरहेको विभिन्न घटनाले देखाइसकेका छन् ।

उता, विगत ५ वर्षदेखि केन्द्रीय लेखामा तरमार्न सफल डिएसपी गणेश मल्लको पनि चुरिफुरी बढेको छ । शक्तिकेन्द्रलाई खुसी बनाई लगातार केन्द्रीय लेखामा बस्दै आएका उनको हालिमुहाली पछिल्लो समय बढेको छ । विवादास्पद एसएसपी दिपेन्द्र कुंवरसँग मिलेर पछिल्लो समय उनले बजेटमा रजगज चलाएका छन् । एसएसपी कुँवर प्रबन्ध शाखाको प्रमुख छन् । दुईजना मिलेर चुनावी बजेटको समेत ब्यापक दुरुपयोग गरिरहेको स्रोत बताउँछ । उनीहरूको समूहले प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत गुमराहमा राखेर खरिदका काममा अनियमितता गरिरहेको सशस्त्र मुख्यालयका एक अधिकारी बताउँछन् ।

उता, नबलपरासीको विभिन्न नाकाबाट तस्करी भइरहेको विषयमा उजुरी परेपनि कारबाही हुन सकेको छैन । जिल्लाका बलिनगर, गुठी, महेशपुरलगायतका नाकाबाट तस्करी भइरहेको उजुरी मुख्यालयमा परेको थियो । त्यस बिषयमा मुख्यालयले छानबिनसमेत गरेको थियो । छानबिनमा पुष्टि हुने आधार देखिए पनि कारबाही भएको छैन ।

बलिनगरबाट हार्डवयर, कपडा, किराना सामानको तस्करी भइरहेको छ भने, अन्य नाकाबाट केराउ लगायतको तस्करी भएको छ । यस्तै गुठी, महेशपुर नाकाबाट समेत तस्करी धन्दा चकेको छ । सशस्त्र प्रहरीको नबलपरासीस्थित २६ नम्बर गणका गणपति एसपी रुपकुमार क्षेत्रीले समेत प्रत्येक बिओपीबाट मासिक रकम असुल्ने गरेको स्रोत बताउँछ । शक्तिकेन्द्रको आडमा बिओपी पुगेका इन्सपेक्टरका कारण तस्करी मौलाएको र उनीहरूमाथि कारबाही समेत हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्