Logo
Logo

विभेद र अन्यायकाविरुद्ध सधै दृढ रहने सशक्त नेतृ लक्ष्मी


441
Shares

काठमाडौं । चितवनको रत्ननगर-९ कपरफोरीमा जन्मिएकी लक्ष्मी नेपाली वामपन्थी आन्दोलनकी योद्धा हुन् । बुबा दिलबहादुर र आमा खाँदिरमाया नेपालीको कोखबाट वि.सं. २०४२ कात्तिक ११ गते जन्मिएकीउनी नेकपा माओवादी (केन्द्र) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उमेदवार हुन् ।

जीवनको केही समय जागिर र व्यावसायिक अनुभव लिएकी उनले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छिन् । सरल, सहयोगी र आताकी धनी लक्ष्मी विपन्न परिवार एवंम् दलित सुमदायमा जन्मिएकी छोरी भए पनि उच्च शिक्षा हासिल गर्ने दलित समुदायको अगुवा नेताका रूपमा परिचित छिन् ।

शैक्षिक चेतसँगै आफूलाई कम्युनिस्ट राजनितिमा अलग पहिचानको साथ आफूलाई सक्रिय राखेकी एक योद्धा हुन् लक्ष्मी । बाल्यकालमा सामाजिक रूपमा जातीय विभेदको चपेटामा परेकी उनले विभेदको अनुभव नजिकबाट नियालेकी छिन् ।

सानैदेखि विभेद र अन्यायको विरोधमा उत्रिने विद्रोही स्वभावककी उनी वामपन्थी आन्दोलनमा समाहित भएपछि झनै सशक्त रूपमा तल्लिन छिन् । सामाजिक रूपमा हुने गरेका जातीय विभेद र अध्ययनको क्रममा देखेको शिक्षा क्षेत्रको दोहोरो प्रणाली, अनियमितता र असमानताको अनुभवले १७ वर्षको उमेरदेखि नै उनले विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरू गरेकी थिइन् । वि.सं. २०५८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेसँगै प्रवीणता प्रमाणपत्र तह अध्ययनको क्रममा २०६० देखि ६२ सम्म तत्कालीन एकता केन्द्र (मसाल) निकट विद्यार्थी संगठन अखिल (एकीकृत) को जिल्ला सदस्य भएर काम गरेको अनुभव उनीसँग छ ।

वि.सं.२०६२ मा लक्ष्मी बैंकटेश्वर मन्दिर प्रवेशको संघर्षमा घाइते हुन पुगेका उनी ०६२/६३ सालको १९ दिने जनआन्दोलनमा काठमाडौंमा केन्द्रित थिइन् । त्यस समयमा सेनाको कुटपिटबाट कम्मरको हड्डी छुट्टिन पुगेको थियो । जसले गर्दा ढाडको दीर्घ समस्या सुरू भयो । वि.सं. २०६३ अखिल (एकीकृत)को जिल्ला सहसचिवको जिम्मेवारी वहन गर्दै २०६४ मा तत्कालीन एकता केन्द्र (मसाल) को पूर्णकालीन सदस्य भई सबैखाले आन्दोलन र संघर्षमा होमिँदै जनताको सेवामा लक्ष्मी खटिएकी थिइन् ।

२०६४ देखि २०६६ सम्म विद्यार्थी संगठनको सचिवको जिम्मेवारीमा रहिन् भने ०६६/६७ मा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर जिम्मेवारी पूरा गरिन् । उनले तत्कालीन नेपाल राष्ट्रिय दलित मुक्ति संगठनको जिल्ला सचिव भएर लामो समय दलित उत्पीडित समुदाय र विद्यार्थीहरूको समस्या र संघर्षको मोर्चामा अग्रणी भूमिका निर्वाह गरेकी छिन् ।

२०६४ मा तत्कालीन भूमिगत पार्टी नेकपा एकता केन्द्र (मसाल) को जिल्ला सदस्य भई आफ्नो जिम्मेवारी पूरा गरेकी उनले वि.सं. २०६५ मा तत्कालीन पार्टीहरू नेकपा (माओवादी) र नेकपा एकता केन्द्र (मसाल) को पार्टी एकीकरण पश्चात नेकपा माओवादी (केन्द्र) को जिल्ला सदस्य अखिल (क्रान्तिकारी)को जिल्ला सचिव र जिल्ला उपाध्यक्ष, नेपाल दलित मुक्ति मोर्चाको पनि जिल्ला सचिव र प्रदेश समिति सदस्य हुँदै हाल नेकपा माओवादी (केन्द्र) को बागमती प्रदेश समितिको हैसियतमा रहेर आम दलित, महिला, उत्पीडित, पिछडिएका र सीमान्तकृत समुदायको पक्षमा र अन्याय र विभेदको विरुद्धमा संघर्ष निरन्तर तल्लिन छिन् ।

प्रतिक्रिया दिनुहोस्