Logo
Logo

अध्यागमनमा रुवाबासी


21.3k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख भएर गएका सहसचिव बासुदेव घिमिरे प्रहरीका कारण तनावमा परेका छन् । भिजिट भिसामा हुने सेटिङमा प्रहरीले रोक लगाएर अध्यागमको कमाई सुकेको छ ।

अध्यागमनकै सेटिङमा मानव तस्करी बढेपछि विगत तीन महिनायता प्रहरीले सक्रियता बढाएर शंकास्पदहरुलाई आफैं रोक्दै आएको छ । विमानस्थल प्रहरी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तीन महिनामा ६ सय भन्दा धेरैलाई रोकेपछि सेटिङको जालो भत्किएको छ । जसकारण अध्यागमनका कर्मचारीको कमाई बन्द भएको हो ।

हालै एक फरार अभियुक्तलाई अध्यागमन कर्मचारीको मिलेमतोमा भगाइएको पुष्टि भएपछि अध्यागमनको धन्दा थप बाहिर आएको छ । बैदेशिक रोजगार ठगी तथा मानव तस्करीमा फरार श्यामराज पाण्डेलाई गत ७ कात्तिकमा अध्यागमन कर्मचारीले भगाएका थिए । सो विषयलाई सहसचिव घिमिरेले ढाकछोप प्रयास गरिरहेका छन् । अध्यागमन अधिकृत सन्तोष सुवेदीले सुरुमा जापान पठाउन लागेको र नमिलेपछि भगाएको सिसिक्योमराबाट प्रष्ट भइसकेको छ । तर, उनलाई अझै कारबाही भएको छैन ।

भिजिट भिसामा विदेश जाने सयौं नेपालीले दुःख पाएका छन् । कतिपय महिलाहरु बेचिएका छन् । यसरी बेचिएकाहरुको राज्यले उद्धार गर्नुपर्ने हुन्छ । यता अध्यागमनका कर्मचारी भने एक जनालाई पठाउँदा एक लाख रुपैयाँसम्म असुलेर त्यसमा मस्ती गर्दै आएका छन् ।

यस्तो गिरोह यति बलियो छ कि उनीहरुले प्रहरीको सक्रियता रोक्न गृह मन्त्रालयमा लबिइङ गरिरहेको छ । स्रोतका अनुसार एयरपोर्टका डिआइजी श्यामलाल ज्ञवालीलाई हटाउनेदेखि मानव बेचबिखन ब्यूरोका प्रहरीलाई आर्थिक प्रभावमा पार्नेसम्मका प्रयास भइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही अधिकारीलाई त उनीहरुले प्रभावमा पारिसकेका छन् । सोही कारण आयोगले पछिल्लो समय अनुसन्धानमा सक्रियता देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्