Logo
Logo

चुनाव खर्च उठाउन डिजी हेरफेर


3.2k
Shares

काठमाडौं । चुनावको मुखमा सरकारले तीन वटा महत्वपूर्ण विभागको नेतृत्व हेरफेर गरेको छ । निर्वाचन आयोगको समेत सहमति लिएर सरकारले गरेको हेरफेरको उद्देश्यप्रति धेरैले आशंका व्यक्त गरेका छन् ।

आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशक हेरफेर गरिएको हो । राजश्व अनुसन्धान विभागमा चार महिनामा नै महानिर्देशक फेरियो । गत असारमा महानिर्देशक बनेका झलकराज अधिकारीलाई हटाएर मदन दाहाललाई लगिएको छ । अधिकारीबाट स्वार्थ पूरा नभएपछि दाहाललाई लगिएको स्रोत बताउँछ ।

देउवा सरकार बनेयता विभागमा चार महानिर्देशक फेरिसकेका छन् । झलकरामअघि प्रकाश पौडेललाई महानिर्देशक बनाइएको थियो । उनी पनि लामो समय टिक्न सकेनन् । विभागलाई बालुवाटारनिकट एक समूहले पैसा उठाउने माध्यम बनाएको छ । विभाग हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष मातहत छ ।

त्यस्तै, अर्थ मन्त्रालयले पनि दुई विभागका महानिर्देशक हेरफेर गरेको छ । आन्तरिक राजश्व विभागमा दीर्घराज मैनाली तथा भन्सार विभागमा चक्रबहादुर बुढालाई पठाइएको छ । सहसचिव मैनाली यसअघि केपी शर्मांओलीको प्रिय बनेर राजश्व अनुसन्धान विभागको महानिर्देशक बनेका थिए । देउवा सरकारले पेलेर उनलाई प्रदेश नम्बर १ पठाएको थियो । सेटिङ मिलाएर फेरि उनी महत्वपूर्ण विभागको महानिर्देशक बनेका छन् ।

भन्सार विभागमा पनि एक वर्षमा तीन महानिर्देशक फेरिएका छन् । जहाँ लगिएका चक्रबहादुर बुढा अर्थमन्त्री जनार्दन शर्माका प्रिय व्यक्ति हुन् । यसअघि गृहमा हुँदा पनि बुढालाई कर्मचारी प्रशासन महाशाखामा राखिएको थियो । उनी पछि कास्कीको सिडिओ बने । अहिले जनार्दनले उनलाई भन्सारको जिम्मा दिएका छन् ।

चुनाव खर्च उठाउनकै लागि यसरी चुनावको मुखमा महानिर्देशकहरू हेरफेर गरिएको चर्चा सिंहदरबारमा छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि चलखेलकै आधारमा दुई महिनाअघि तारानाथ अधिकारीलाई पठाइएको थियो ।

त्यस्तै, सचिवको पनि बढुवा र सरुवासमेत गरिएको छ । गत साता केशव शर्मालाई सचिवमा बढुवा गरिएको थियो । त्यस्तै, सचिव सागर राईले अवकाश पाएकै दिन सचिव दिनेशकुमार घिमिरेलाई उर्जा सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्