Logo
Logo

एक नेपाली बन्दुकसहित दोहा पुगे


4.2k
Shares

प्रतिकात्मक तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पार गरेर एक व्यक्ति बन्दुकसहित कतारको दोहा पुगेको खुलासा भएको छ ।

विमानस्थल स्रोतका अनुसार कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६४७ बाट अमेरिका उडेका सुनिल श्रेष्ठको साथबाट कतारको दोहास्थित अध्यागमनमा ‘रेप्लिका गन’ बरामद भएको हो । 

परिवारका ४ सदस्यसहित अमेरिका उडेका श्रेष्ठ ट्रान्जिटका क्रममा ९ नोभेम्बरका दिन दोहा पुगेका थिए । चेकजाँचका क्रममा श्रेष्ठको ‘ह्याण्ड ब्यागेज’मा गन फेलापरेपछि उक्त गन बरामद दोहा इमिग्रेसनले बरामद गरेको छ । दोहा इमिग्रेसनले गन बरामद गरे पनि श्रेष्ठ र उनको परिवारलाई भने अमेरिका पठाइसकेको छ ।

हतियारसहित यात्रु दोहा पुगेपछि कतार एयरवेजले नेपालस्थित आफ्नो प्रतिनिधि कार्यालयलाई पत्र लेखेर उक्त गनबारे अध्ययन गर्न भनेको छ । नेपालस्थित कतार एयरवेजले उक्त पत्र पाए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

नेपालको सुरक्षा जाँच पार गरेर कतार पुगेका यात्रुको साथबाट बन्दुक बरामद भए पनि प्रहरीले भने यो विषय स्वीकार गरेको छैन । त्यसैगरी, कतार एयरवेजको नेपाल प्रतिनिधिले पनि उक्त विषय अस्वीकार गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख डीआइजी श्याम ज्ञावालीले दोहामा बरामद गरिएको गन असली नभएर बच्चाको खेलौना रहेको अपत्यारिलो जवाफ दिएका छन् । ज्ञवालले भने– ‘हामीले यस विषयमा अनुसन्धान गरेका छौं । त्यो असली गन नभएर बच्चाको खेलौना रहेको पत्ता लाग्यो ।’

डीआइजी ज्ञवालीले दोहामा बरामद भएको गन नक्कली भएको बताए पनि कतार एयरवेजले प्रहरी र अध्यागमनलाई लेखेको पत्रमा भने स्पष्ट रुपमा ‘रेप्लिका गन’ भेटिएको र आवश्यक अनुसन्धान गरी कारबाही गर्नु भनेको छ ।

विमानस्थलको सुरक्षाको विषय अति कमजोर रहेको बारम्बर पुष्टि भइसकेको कुरा हो । यसपटक पनि यहाँको सुरक्षा जाँच पार गरेर एक यात्रु बन्दुकसहित कतार पुगेको घटनाले विमानस्थलको सुरक्षामा थप प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस्