Logo
Logo

ओलीले कोशीको पानी ल्याएर खुवाउछु भनेपछि हर्कको प्रतिक्रिया- धेरै चुनौती नदिँदा हुन्छ हाउडे !


21.7k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘हाउडे’ भएको बताएका छन् । 

आज (शुक्रबार) धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउने बताएका थिए । उनले भनेका थिए– ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकून विचरा ? कसको घरमा खानेपानी पुर्‍याउने ? कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुहोस्, नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ।’

ओलीको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै मेयर साम्पाङले ओलीलाई ‘हाउडे’ भन्दै चुनौति नदिन आग्रह गरे । ०७४ सालको निर्वाचनमा ओलीले गरेको प्रतिबद्धताप्रति व्यङ्ग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछन् ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खानेपानीलाई नै मूल मुद्दा बनाएर मेयरका उम्मेदवार बनेका हर्कले जितेका थिए । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । 

मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याइसकेका छन् । आफ्नो कार्यकालमा कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउने उनको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्