Logo
Logo

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ : पासाङ


1.3k
Shares

खोटाङ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवं पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् ।

खेतीपाती, पशुपालन र फलफूल खेतीलाई व्यावसायीकरण गर्न पकेटक्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आधुनिक यन्त्र, मल र बीउ, बहुउद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने र खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनका लागि सङ्कलन केन्द्र र शीतभण्डारण केन्द्र स्थापना गर्नाका साथै बजारीकरण र प्रशोधनको व्यवस्था गर्ने संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख छ ।

कृषिमा जैविक (अग्र्यानिक) उत्पादनलाई विशेष जोड दिँदै रैथाने बाली अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिँचाइको सुविधा पु¥याउन अग्ला ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको आतङ्कबाट मुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जङ्गली जनावरबाट हुने क्षतिको पूर्ति गर्न पहल गर्ने र सहुलियतमा कृषि बीमा गर्नेलगायत बुँदा प्रतिबद्धतापत्रमा समेटिएको छ ।

गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताले उक्त प्रतिबद्धतापत्र जिल्लाका १० वटै स्थानीय तहका मतदाताको हातहातमा पु¥यउन थालेका छन् । पूर्वी पहाडी क्षेत्रका अधिकांश बासिन्दा कृषिमा आधारित रहेकाले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिबद्धतालाई निकै महत्वका साथ हेरिएको छ ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (२)मा कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका तीनै उम्मेदवार यतिबेला आ-आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावी सभामा व्यस्त छन् ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्लाअध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा (१) मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा (२)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्