Logo
Logo
निर्वाचन संवाद

‘मेरा निकटतम प्रतिद्वन्द्वी १८ हजार मतले पछाडि छन्’


युवराज चौलागाई, उम्मेदवार, रामेछाप प्रदेशसभा–२

7.4k
Shares

काठमाडौं । वाम–लोकतान्त्रिक गठबन्धनबाट रामेछाप प्रदेशसभा–२ का साझा उम्मेदवार हुन्, युवराज चौलागाई । नेकपा माओवादीका केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका युवराज युवा पुस्ताका लोकप्रिय र प्रभावशाली नेता हुन् । वौद्धिक तथा विदेश मामलाका जानकार युवराज यसपटक प्रदेश सरकार नेतृत्व गर्ने चाहनाका साथ प्रदेशसभा निर्वाचनमा होमिएका छन् । निर्वाचनकै सन्दर्भमा उनीसँग गरिएको संवाद प्रस्तुत छ–

घरदैलो अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
हामीले तीन तहको निर्वाचन अभियानका कार्यक्रमहरु संचालन गरेका छौं । संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचन अभियान, प्रदेश र पालिका–वडा स्तरीय निर्वाचन अभियान जारी छ । मेरो क्षेत्रमा प्रदेश स्तरीय निर्वाचन अभियान सम्पन्न भइसकेको छ, संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचन अभियान उत्तरार्धमा पुगेको छ । यो जारी छ । त्यस्तै पालिका स्तरीय, वडा स्तरीय अभियानहरु पनि जारी छ । जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने काम भइरहेको छ । अभियानमा जनपरिचालन गरिएको छ । गठबन्धनको राजनीतिक औचित्य पुष्टि गर्ने कामहरु गरेका छौं । जनतालाई प्रशिक्षित गर्ने काम गरेका छौं । जनताका गुनासाहरु सुन्ने, आफ्ना एजेण्डा प्रतिवद्धताहरु राख्ने काम भैरहेको छ ।

जनतामाझ कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ?
हामीले जनतामाझ मूलतः दुई वटा कुरा भनेका छौं । एउटा संसद्को सदस्यले गर्ने विधायिकी कामको बारेमा । राम्रो कानुन बनाउने, सो कानुनलाई राम्रो संयन्त्रमार्फत कार्यान्वयन गर्ने । अनुगमन गर्ने, सरकारी संयन्त्रहरुलाई बलियो बनाउने । लोकतन्त्रको आधारको रुपमा लोकतान्त्रिक संस्था वा प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाउने जस्ता कुराहरुमा हाम्रो भूमिका औसतभन्दा माथि नै हुने कुरा हामीले जनतामाझ प्रतिवद्धता जनाएका छौं । दोस्रो, जनताका आवश्यकता पूर्ति गर्ने । विकास निर्माणका कार्यहरुको वाहकको रुपमा भूमिका निर्वाह गर्ने बताएका छौं । जसमा स्थान विशेष अनुसारका विषयहरु छन् । जनताको माग पूर्वाधारहरुको विकासमा बढी रहेको छ र मेरो निर्वाचन क्षेत्रमा हाम्रो आवश्यकता पनि त्यही देखिन्छ अहिले ।

त्यस क्षेत्रको वस्तुगत समस्याहरु के के छन् ? जसलाई निर्वाचित भएपछि समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ?
हामीले प्रतिवद्धता व्यक्त गरेका अधिकांश साझा कुरा सडक पूर्वाधारसँग सम्बन्धित छन् । समस्याहरु बुँदागत रुपमा राख्न चाहन्छु–
१. नयाँ ट्र्याक खोल्ने कुरा कम छ, भएका सडकहरुको कालोपत्रे गर्ने कुरा बढी छ । सडकहरुको स्तरीकरण गर्नेदेखि कालोपत्रे गर्नेसम्मका विषयहरु अलि बढी छन् । त्यसमा जिल्लाको रणनीतिक सडकहरुको पहिचान गर्ने कुरा एउटा चुनौति पनि देखिन्छ । जनताले सबै सडकहरुमा एकै पटक कालोपत्रे गर्ने माग गर्नुभएको छ । त्यसमा रणनीतिक सडकहरुको छनोट गर्नुपर्ने स्थिति छ । हाम्रो सन्दर्भमा सिंगो जिल्लालाई पूर्व–पश्चिम जोड्ने सडक निर्माण गर्नुपर्ने छ । अर्काे रामेछाप भएर मध्य पहाडी लोकमार्ग जान्छ, यसलाई पालिकासम्म जोड्ने कुरा दोस्रो प्राथमिकतामा राखेका छौं ।

२. हामीले पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास निर्माण गर्ने, शैलुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, जसमा सडक कालोपत्रे देखि प्याराग्लाइडिङ सञ्चालन गर्ने, वस्तीहरुलाई समेटेर त्यहाँ चक्रपथ निर्माण गर्ने लगायतका विषयहरुलाई प्राथमिकतामा राखेका छौं ।
३. यस क्षेत्रमा अधिकांश कृषक हुनुहुन्छ, त्यसैले पनि कृषि क्षेत्रमा पनि बढी कुरा उठेको छ । समयमा मल, विउ, विजन पाउन नसकेको प्रति कृषक मतदाताहरुको केही आक्रोश पनि छ । प्राकृतिक विपद्देखि, वन्यजन्तु आक्रमणलगायत समस्यामा राज्यले वेवास्ता गरेको उहाँहरुको गुनासो पनि छ । उहाँहरुको समस्यालाई सुनेर त्यसलाई समाधान गर्नु जरुरी छ ।

४. अर्काे ठूलो समस्या भनेको युवाको शिक्षा, युवाको रोजगारी, उहाँहरुको कमशल खालको आप्रवास वा वैदेशिक रोजगारी, खेलकुद, नेतृत्व विकासमा देखिएका विभिन्न समस्याहरुलाई पनि समाधान गर्नुछ । उहाँहरुको समस्याहरुलाई हामी समाधान गर्छाै भन्ने प्रतिवद्धता जनाएका छौं । भरसर नेपालीहरु वैदेशिक राजगारीमा जान नपरोस्, जानै परे पनि राम्रो काममा जानका लागि यहाँ सीप र तालिमहरुको व्यवस्था गर्न सकियोस् भन्ने कुराहरुमा हामी जोड दिन्छौं भनेका छौं । शिक्षामा सबैको पहुँच पुग्ने गरी विकास, रोजगारीमा सिर्जनालगायतका कुराहरु गर्नु जरुरी छ ।

५. गाउँमा स्वास्थ्यगत पूर्वाधारहरु अत्यन्त कम छन् । भएकाहरुमा पनि विज्ञ डाक्टरहरु, राम्र स्वास्थ्यकर्मीहरु छैनन् । ल्याबलगायत टेक्निकल सपोर्टको कुराहरु छैनन् । सुविधानसम्पन्न अस्पताल पुग्नका लागि सडक तथा एम्बुलेन्सको सुविधा छैन । त्यसैले यि कुराहरुमा हामीले काम गर्नुछ । र, जनतालाई सेवा सुविधा दिनुछ । आगामी पाँच वर्षभित्र हामीले उल्लेख्य हदसम्म पूरा गर्ने र त्यसतर्फ अघि बढ्ने छौं ।

६. यहाँ केही अल्पसंख्यक जातीहरु छन् । थामी, माझी, हेल्मो, हायू, पहरीलगायतका जातीहरुलाई राज्यको तर्फबाट विशेष राहत, उत्थानको प्याकेजका कार्यक्रमहरु ल्याएर उनीहरुको भाषा, संस्कृतिलगायत उनीहरुको समग्र विकासको कुरालाई अगाडि बढाउन जरुरी छ ।

चुनावको बेला अनेक एजेण्डा बोकेर घरदैलो आउने नेता चुनाव जितेपछि पूरा गर्दैनन् भन्ने जनगुनासो छ, यसमा तपाईं के भन्नुहुन्छ ?
यस विषयमा जनताको सबैभन्दा बढी चासो छ । जनताले कडा टिप्पणीहरु पनि गरिरहनु भएको छ । ‘चुनावअघि नेताहरु खुट्टा ढोग्न आउँछौ, हामीलाई विभिन्न सपना बाँड्छौ, पछि अनुहार पनि देखाउँदैनौ, हाम्रो बीचमा आउँदैनौ’ भन्ने जस्ता कडा टिप्पणीहरु मैले पनि सुनेको छु । हाम्रै अगाडि बसेर भन्ने गर्नुभएको छ उहाँहरुले । हामीले काम गर्न नसक्ने प्रतिवद्धता गरेका छैनौं । नहुने प्रतिवद्धता गर्नु पनि हुँदैन । हामीले जे गर्न सक्छौं, त्यो प्रतिवद्धता गर्ने हो । नेपालको विकासको समग्र स्थितिलाई हेर्दा, १० वर्ष अगाडि सडक खेल्न पाए हुन्थ्यो भन्ने थियो, आज सडक विस्तार भएका छन्, बाटो खुलेका छन्, जनताले पक्की सडकको माग गर्नुभएको छ । त्यो कुरा स्वभाविक पनि हो । जायज छ र विकासक्रम अनुरुप नै छ । आगामी पाँच वर्षमा हामी सबै नसकौंला त मुख्य रणनीतिक सडकहरुको कालोपत्रे गर्नेपर्छ र त्यो हामी गर्न सक्छौं । मैले जनतामाझ पनि भनेको छु, म जनताको सेवा गर्नलाई अत्यधिक प्रयत्न गर्नेछु, गर्दा गर्दै कही असफल भइएला । तर जनताले ‘तैले गर्न नै चाहिनस्’ भन्ने आरोप म आउन दिन्नँ ।

यस्ता प्रतिवद्धताहरु त प्रतिपक्षीहरुले पनि जनतामाझ बाँडेका होलान् । जनताले तपाईंलाई विश्वास किन गर्ने र मत किन दिने ?
यो कुराको निर्णय गर्ने अधिकार हो । मलाई लाग्छ उहाँहरुले मलाई नै मत दिनुहुन्छ । किनभने रामेछापको माटो, यहाँको आवश्यकता, यहाँको स्थिती मैले राम्रोसँग बुझेको छ । रामेछाप र देशकै परिवर्तनका लागि बीसौं वर्षदेखि म राजनीतिक अभियानमा सहभागी छु । पार्टीको केन्द्रीय नेतृत्वको तहमा छु । पढेको छु, देश–विदेशबाट अनुभवहरु लिएको छु, युवा हुँ, काम गर्ने जोश र जाँगर छ, लामो समय काम गर्न सक्ने उमेर अवस्था छ । पार्टीको उच्च राजनीतिक नेतृत्वसँग सिधा पहुँच र सम्पर्क, सहकार्य गर्न सक्छु । यसले गर्दा पनि जनताले मबाट निकै अपेक्षा गर्नुभएको छ र म त्यसलाई पूरा गर्न तत्पर पनि छु । मेरो प्रतिष्पर्धी भन्दा म राजनीतिक र अन्य विषयहरुले पनि एउटा अब्बल उम्मेदवार हुँ । त्यस्तै हाम्रो गठबन्धनका दलहरुको पनि साथ र सहयोग मिलेको छ । संविधानको रक्षा, स्थायित्व र देशलाई समृद्धितर्फ लैजान हामीले प्रयत्न गरेका छौं । यो कुरा जनताको हितमा छ । उहाँहरुले यो कुरा बुझ्नु भएको छ । ६ महिना अगाडि सम्पन्न स्थानीय निर्वाचनको तथ्यांक हेर्ने हो भने हाम्रा निकटतम प्रतिद्वन्द्वी झण्डै १८ हजार मतले पछाडि हुनुहुन्थ्यो । त्यसैले यस पटक जित्ने उम्मेदवार युवराज चौलागाई नै हो । म त्यसमा विश्वस्त छु । मलाई माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत नेकपा एमालेका केही असन्तुष्ट पक्षहरुले पनि मत दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आम मतदाताले कस्तो प्रतिक्रिया दिइरहनु भएको छ ?
हामीलाई अभियानमा हिड्दा यति ठूलो स्वागत गर्नुहुन्छ । ठाउँ–ठाउँमा रोकेर दही खुवाउँदै जीतका लागि आशिर्वाद र शुभकामना दिनुहुन्छ । आफ्नो आस्था र धर्मअनुुसार हाम्रा लागि प्रार्थना, मन्दिरमा भाकल समेत गर्नुभएको खबर सुनाउनुहुन्छ । जनसमुदायले फूल–मालाले स्वागत गर्नुहुन्छ । एउटै सभामा हजारौं मान्छेहरुको उपस्थिति हुन्छ । अभियानमा स्वतःस्फूर्त रुपमा सयौंको संख्यामा युवाहरु हिडिरहनु भएको छ । सामान्य कार्यालय सहयोगीको रुपमा काम गर्ने साथीहरु समेतले मलाई आर्थिक भार होला भनेर सोध्नुहुन्छ । सहयोग गर्नुहुन्छ, देश–विदेशबाट साथीहरुले मलाई आर्थिक, भौतिक रुपमा सहयोग गरिरहनु भएको छ । समग्रमा निकै उत्साहजनक छ । जनताको समर्थन, साथबाट मैले मैले निकै ठूलो सपोर्टको अनुभूति गरेको छु ।

प्रतिक्रिया दिनुहोस्