Logo
Logo

प्युठान : विरासत जोगाउने प्रयासमा दुर्गा, सूर्य थापाले रोक्लान् ?


3.7k
Shares

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेका नेता सूर्य थापा र राष्ट्रिय जनमोर्चा (राजमो)की उपाध्यक्ष दुर्गा पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

कम्युनिस्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको गृह जिल्लाबाट उनी तेस्रोपटक संसद यात्राको तयारीमा छिन् । सिंहकी श्रीमतीसमेत रहेकी पौडेल सत्ता गठबन्धनकी साझा उमेदवार हुन् । एमालेका थापाले पहिलोपटक संसदीय निर्वाचनको अनुभव लिँदैछन् ।

पार्टी पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज समेत रहेका नेता थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए । उनी जिल्ला पार्टीमा बलियो पकड भएका नेता मानिन्छ ।

०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रसँग गठबन्धन गरी राजमोले देशभरमा एक सिट जितेर पार्टीको बिउ जोगाएको थियो । अहिले पौडेललाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ । जनमोर्चाको किल्ला मानिने प्युठानमा पाँच दलको समर्थनमा पुरानो क्षेत्रलाई जोगाउने प्रयासमा छिन् दुर्गा ।

०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् । पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए ।

एमाले, माओवादी केन्द्रसहितको वाम गठबन्धनको मतले विजयी भएकी पौडेललाई यसपटक सत्ता गठबन्धनको समर्थनले जित निश्चितजस्तै भएको दाबी उनी निकटकाले गर्दै आएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्दा प्युठानमा गठबन्धन एमालेभन्दा अघि छ । जिल्लामा पालिका प्रमुखको मत परिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ । एमालेको ३९ हजार १२८ मत छ । यो आधारमा एमाले प्युठानमा नौ हजार ४३ मतले पछि छ ।

एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ ।

त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले एक हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको एकीकृत समाजवादीले एक हजार ३२२ मत प्राप्त गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्