Logo
Logo

सुर्खेत-१ : गडबड नभए गठबन्धनको जीत निश्चित


378
Shares

सुर्खेत । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुर्खेत–१ मा सत्ता गठबन्धन बलियो देखिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार बलियो देखिएका छन् । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी एमाले देखिएको छ ।

सुर्खेत–१ मा प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा नेकपा माओवादीको मतबाट पराजित भएका खड्का यसपटक माओवादीकै मतले चुनाव जित्नेमा ढुक्क छन् ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो । ०७४ को निर्वाचनमा यहाँ एमालेका ध्रुवकुमार शाही करिब तीन हजार मतान्तरले विजयी भएका थिए । तर, यस पटक कोर्स परिर्वतन भएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामअनुसार सुर्खेत–१ मा गठबन्धन बलियो देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले ३६ हजार ९२८ मत पाएको थियो भने दोस्रो बनेको एमालेले ३४ हजार ८४३ मत पाएको छ ।

यस्तै, माओवादीले ५ हजार ७५, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत पाएको छ । यो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ । जुन एमालेको मतभन्दा ७ हजार बढी हो । गठबन्धनमा गडबड नभए खड्काले स्वतः चुनाव जित्नेछन् ।

यो क्षेत्रको प्रदेशसभातर्फ प्रदेश १ (१)मा नेपाली कांग्रेसका खड्क पोखरेल र १ (२)मा माओवादीका कृष्ण जिसी उम्मेदवार छन् । एमालेले १ (१)मा पूर्वमाओवादीसमेत रहेका ठम्मर विष्ट र १ (२)मा डण्डीप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । पोखरेललाई माओवादीका कारण चुनाव जित्न सहज छ भने जिसीका लागि कांग्रेस निर्णायक छ ।

प्रतिक्रिया दिनुहोस्