Logo
Logo

एमाले-कांग्रेसबीचको द्धन्द्धले रेखालाई फाइदा, जितमा सुकुम्वासीको मत निर्णायक


1.6k
Shares

काठमाडौं । रिल लाइफमा प्रशस्त नाम र दाम कमाइसकेकी अभिनेत्री रेखा थापा चुनावी मैदानमा उत्रिएसँगै मोरङ निर्वाचन क्षेत्र ३ गर्माएको छ ।

राप्रपाकी रेखाले रियल लाइफमा चुनौती मोलेर नेकपा एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकाल र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुनिल शर्मासँग चुनावी प्रतिस्पर्धा गर्दै छिन् । कांग्रेस र वामपन्थीहरूको झन्डै समानान्तर पकड भएको मोरङ ३ मा रेखाको पार्टी राप्रपाको भने खासै पकड छैन ।

प्रमुख राजनीतिक दलका उम्मेदवारबीच रेखाको ‘इन्ट्री’ले यस क्षेत्रको चुनावी माहोल तातेको छ । विगतका निर्वाचनको परिणामलाई हेर्ने हो भने यो क्षेत्र कम्युनिष्टको ‘लाल किल्ला’ हो भन्दा फरक पर्दैन । तर, गत संसदीय निर्वाचनमा कांग्रेसका शर्माले आफ्नो बलियो उपस्थिति देखाएपछि यो क्षेत्रमा कांग्रेसले प्रभाव जमाउन थालेको छ ।

उक्त निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचनमा होमिएका एमालेका ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए । गत स्थानीय तहको निर्वाचनलाई हेरेर यो पटक अनुमान लगाउन सकिने अवस्था छैन ।

किनकि, चलचित्र क्षेत्रमा सफलता हात पारेकी थापाको उपस्थितिले आगामी निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का छ । यो क्षेत्रमा थापाको खटाई र मिहेनत उत्तिकै बलियो छ । यतिबेला संगठनको आडमा निर्वाचनको नतिजा हात पार्न दाउमा एमालेका ढकाल देखिन्छन् भने शर्मा गठबन्धनको साथ भएकाले ६० हजार मत ल्याएर जित्ने दाबी गरिरहेका छन् ।

यता, राप्रपा पार्टीबाट उम्मेदवारी बनेकी रेखाले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई आक्रमक बनाउँदै लगेकी छन् । उनी बिहानदेखि साँझसम्म घरदैलो र भेटघाटमा व्यस्त भइरहेकी छिन् । उनले मोरङ–३ ले परिवर्तन रोजेकाले आम नागरिक, महिला दिदीबहिनी र युवा वर्गको साथ आफूलाई रहेको बताउँदै आएकी छन् ।

चलचित्र क्षेत्रमा प्रतिष्ठा हासिल गरेकी उनी निष्कलंक, युवा साथै महिला हुनु उनको बलियो पक्ष हो । मोरङ–३ ले इतिहासमै पहिलोपटक महिला प्रतिनिधि पाउने भन्दै महिलाहरू थापाको पक्षमा उभिएका छन् । यस क्षेत्र रेखाको माइतीघर पनि हो ।

त्यसैले पारिवारिक साथै शुभेच्छुकहरूको मतसमेत आफ्नो पक्षमा आउने उनी बताउँछिन् । ‘रिल लाइफमा मैले धेरै नाम र दाम कमाएँ । मलाई नपुग्दो केही छैन तर आफ्ना नागरिकहरूको सेवा गर्न म आफ्नो जन्मघर आएकी हुँ । विजयी भएर यहाँका त्रुटि र विकृति सबै हटाउनेछु,’ उनको भनाई थियो ।

रेखाले चुनावी प्रचारप्रसारका क्रममा धेरैजसो महिलाहरूलाई फोकस गर्दै आएकी छिन् । उनी जहाँ जान्छिन् प्रायः महिलाहरूबाट घेरिने गरेकी छिन् । उनले प्रचारप्रसारका क्रममा सबैभन्दा पहिला महिलाहरूका लागि योगदान गर्ने प्रतिबद्धता जनाउने गरेकी छिन् ।

रेखाले प्रचारप्रसारका क्रममा भन्ने गरेकी छिन्, ‘रिल लाइफमा मैले धेरै अन्यायविरुद्ध लडेर विजयी प्राप्त गरेँ । अब रियल लाइफमा तपाईंहरूको अधिकारका लागि लड्छु । म महिला र समाजका लागि निर्धक्क निस्वार्थ सेवा गर्न सधैँ तत्पर रहनेछु ।’

तर, मतदाताहरूले भने चुनाव जितेर गएका अरू नेताजस्तै तिमी हराउने त हैनौ भन्दै रेखाप्रति प्रश्न तेर्साउने गरेका छन् । त्यस्तै, अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्बासी बस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ ३ का करिब एक हजार घरपरिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका थिए ।

जसमा कानेपोखरी, बेलबारी र परिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्बासी बस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दबाबस्वरूप हस्ताक्षर संसद भवनमा र्पुयाउन आग्रह गर्दै थापालाई बुझाएका छन् ।

थापाको सुन्दरहरैंचा–९ मा रहेको घरको समेत धनीपुर्जा नभएकाले सुकुम्बासी समस्या आफ्नै समस्या हो भन्दै थापाले मतदातामाझ सामीप्यता बढाएकी छन् । करिब १ लाख ५० हजार मतदाता रहेको यो क्षेत्रमा ४० हजारको हाराहारीमा सुकुम्बासी रहेका छन्। जसको मत हरेक निर्वाचनमा निर्णायक बन्दै आएको छ ।

उनले सुकुमबासी टोलमा पुगेर भन्ने गरेकी छन्, ‘मेरो दाजु अझै ऐलानी जमिनमा बस्न बाध्य हुनुहुन्छ । मैले पनि धनीपुर्जा नहुनुको पीडा प्रत्यक्ष भोगेको छु । यसैले मैले जिते भने सबैलाई पुर्जा दिलाउन लागिपर्नेछु । यो मेरो वाचा भयो ।’

नयाँ मतदाता र युवा पुस्ताको मात्रै होइन, विभिन्न कारण एमाले र काँग्रेससँग रुष्ट रहेका पार्टीभित्रैका एकाध कार्यकर्ताले पनि खुलेरै रेखालाई समर्थन गरिरहेका छन् । जसले पनि पछिल्लो समय एमाले र कांग्रेसबीचको अन्तरद्वन्द्वमा थापाले नतिजा हात पार्ने हो कि भन्ने विश्लेषण हुन थालेको छ ।

यसबीच रेखा छोटो समयमा आफूलाई विकल्पको रूपमा स्थापित गर्न सफल भएकी छिन् । रेखाले पुराना दल र व्यक्तिप्रतिको आम मतदाताको असन्तुष्टिको मत आफूतर्फ केन्द्रित गराएको देखिन्छ । उनले आफ्नो उम्मेदवारीलाई युवाहरूको सकारात्मक विद्रोहको रुपमा अथ्र्याउने गरेकी छिन् ।

रिल लाइफको ख्यातीले आसन्न निर्वाचनमा जित हासिल गर्न सफल हुने विश्वास बोकेर चुनावी प्रचारमा निस्किएकी अभिनेत्री रेखालाई आफनो जित सुनिश्चत गराउन सहज भने छैन ।

प्रतिक्रिया दिनुहोस्