Logo
Logo

गुण्डा नाइके संसद् पुग्ने त्रासमा विराटनगरवासी


18.6k
Shares

विराटनगर । दोलखाबाट ट्याक्सीको सहचालक (खलासी)को रुपमा विराटनगर झरेका पर्शुराम भनिने कृष्ण बस्नेत छोटो अबधिमै करोडपति बने ।

नेकपा एमालेको संरक्षण पाएपछि गुण्डागर्दीमा जमेका बस्नेतले त्यसकै आडमा अकुत सम्पत्ती मात्र आर्जन गरेनन्, सिंगो एमालेलाई आफ्नो ईशारामा घुमाउन सक्ने हैसियत बनाए ।

उनै पर्शुराम बस्नेत अहिले मोरङ क्षेत्र नं. ६ (२) बाट प्रदेशसभाको उम्मेदवार छन् । नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेलको सहमति हुँदा सो क्षेत्र जसपाको भागमा परेको थियो । एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर भागबण्डा टुंगो लगाएको पत्र सार्वजनिक भएको थियो ।

आफू उम्मेदवार बन्न लागेको क्षेत्र जसपाको भागमा परेपछि बस्नेत आक्रोशित मात्र भएनन, अन्य एमालेका उम्मेदवारलाई ‘चुनाब हराईदिने’ धम्की पुग्नथाल्यो । जसले गर्दा एमालेका सबै नेता उनलाई टिकट दिन बाध्य भए ।

भागबण्डामा पाएको क्षेत्र बस्नेतले फिर्ता लगेपछि जसपाका नेताहरु ‘बस्नेतको शक्ति’ सामु निरिह बने । सो क्षेत्रमा जसपाले राजेन्द्रप्रसाद गुप्तालाई उम्मेदवार बनाएको छ ।

अहिले बस्नेतले युवाको प्रतिनिधि, विकासप्रेमी, भ्रष्टाचार विरोधी भन्दै आफ्नो प्रचार गराईरहेका छन् । स्थानीय मतदाता भने पर्शुराम जस्ता व्यक्तहरु युवाको प्रतिनिधि भएभने मुलुकको अवस्था के होला भन्ने चिन्तामा छन् ।

करिब एक दशक अघि विराटनगरको महेन्द्र चोक नजिकबाट एक व्यवसायी दिनदहाडै अपहरणमा परे । उनी बेपत्ता भएपछि परिवारले खोजी गर्न प्रहरी र स्थानीय सञ्चारकर्मीसँग हारगुहार गरे । तर, पर्शुरामको शक्तिअगाडि प्रहरीले केहि गर्न सकेन ।

मिडियाहरुमा बस्नेतको परिवारले लेनदेन विवादमा उनलाई अपहरण गरेको कुरा परिवारको भनाइको आधारमा सार्वजनिक भयो । दुई दिनपछि पीडित आफैं पत्रकार सम्मेलन गरेर ‘आफू अपहरणमा नपरेको, बरु साथीहरुसँग घुम्न गएको’ प्रतिक्रिया दिए । त्यो पर्शुरामकै ‘शक्ति’को करामत थियो ।

२०६८ जेठमा मोरङ जिल्ला अदालत परिसरमै प्रहरी नियन्त्रणमा रहेका अर्का गुण्डा नाइके अभिशेक गिरीमाथि आक्रमण भयो । घटनापछि पत्रकार सम्मेलन गरेरै उनले त्यसको जिम्मा लिएका थिए । अदालतमाथि गरिएको हमलामा पनि उनीमाथि कुनै कार्वाही भएन ।

प्रहरी सुरक्षा घेरामा अदालतभित्रै बन्दीमाथि आक्रामण गर्नसक्ने पर्शुराम समूहको शक्तिमाथि सुरक्षा निकाय निरिह बन्यो । त्यसको समाचार नागरिक दैनिकमा आबद्ध पत्रकार खिलानाथ ढकालले साहसको साथ लेखे ।

लगत्तै पत्रकार ढकालमाथि सांघातिक आक्रमण भयो । मोरङ युथफोर्सको अध्यक्ष रहेका बस्नेतकै योजनामा ढकालमाथि आक्रमण भएको तथ्यसहित पत्रकारहरु आन्दोलित भए । पत्रकारको लामो आन्दोलनपछि विराटनगरले राहत पायो ।

क्रमशः बस्नेतका एकपछि अर्को कर्तुतहरु सार्वजनिक हुनथाले । नागरिकहरु उनको दबाबबाट बाहिर निस्केर बोल्नथाले । गुण्डागर्दी विरुद्धको त्यो आन्दोलन अन्तराष्ट्रियकरण भयो । तर, एमालेका तत्कालीन मोरङ अध्यक्ष विनोद ढकाल र केन्द्रीय नेता केपी ओलीले उनको संरक्षण गरिरहे ।

बस्नेत ढकालमाथि भएको आक्रमणका योजनाकार मात्र होइन, उनी पूर्वाञ्चलकै अपराधी रहेको रिपोर्ट त्यसबेला गरिएका विभिन्न अध्ययनले दिएका थिए । तर, उनले अदालतबाट सफाइ पाए ।

शक्तिको आडमा टिकेका उनीमाथि ११ करोडभन्दा बढि रकम गुण्डागर्दीबाट आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण विभागले मुद्दा चलायो । तर, अदालतबाट पनि ‘सफाइ’ पाए ।

विवादित पात्र पर्शुरामले लागतार एमाले नेताहरुको संरक्षण पाएकोले उनी एमाले राजनीतिमा लगातार अगाडि बढिरहे । अहिले एमालेको प्रदेश कमिटी सदस्य बनेका छन् । उनी युवासंघको जिल्ला उपाध्यक्ष रहेको बेला उनका अध्यक्ष रहेका रविन थापाहरु अहिले पानि गाउँ तहको राजनीतिबाट माथि उठ्न सकेका छैनन् । तर, बस्नेतले प्रदेशसभाको टिकट पाएका छन् ।

एमाले स्रोतका अनुसार विराटनगर महानगरपालिकाको मेयरमा करिब बस्नेतले टिकट पक्का गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले ‘मैले नचिनेको सागर थापा उम्मेदवार हुँदैन, पर्शुराम हुन्छ’ भनेका थिए । तर, एमालेका अन्य नेताहरुको दबाबको कारण त्यसबेला बस्नेतले टिकट पाएनन् । प्रदेशसभाको टिकट लिन भने उनलाई जसपासँगको भागबण्डाले पनि रोकेन ।

बस्नेतले मतदातासँग अहिले भोट मागिरहेको भएपनि त्यस क्षेत्रका जनताले उनलाई सबक सिकाउने सोचन बनाएका छन् । विराटनगर ११ का सञ्जय यादवका आपराधिक गतिविधिमा मुछिएका व्यक्ति संसदमा पुग्ने हैन, सजाय पाउनुपर्ने पक्षमा आम मतदाता रहेको बताउँछन् ।

बस्नेतलाई पार्टीले टिकट दिएकोमा एमाले कार्यकर्ताहरु पनि रुष्ट छ । टिकट वितरणमा मनपरी भएको भन्दै एमाले मोरङका सचिब रुपेश खतिवडा, प्रदेश कमिटि सचिबालय सदस्य रामकुमार बस्नेतसहित दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् ।

‘पार्टीले इमान्दार, निष्ठावान नेता कार्यकर्तालाई पाखा लगाउँदै बस्नेतजस्तालाई अगाडि बढाएको’ भन्दै मोरङका एमाले निरास छन् । तर, उनीहरु खुलेर बस्नेतको विरोध गर्ने हैसियतमा छैनन् । केन्द्रीय सदस्य विनोद ढकाल र जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलसमेत बस्नेतसामु निरिह रहेको एमालेबृत्तमा चर्चा छ ।

त्यसो त बस्नेतले अघिल्लो प्रदेशसभा निर्वाचनमा एमालेकै उम्मेदवार रमेश पोखरेल र गत स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार सागर थापालाई नै चुनाब हराउन भूमिका खेलेका थिए । तर, पोखरेल र थापा पनि बस्नतेसामु बाध्य छन् ।

पत्रकार ढकालमाथिको कुटपिट प्रकरणमा रोहित कोइराला र मनोजसिंह राईलाई कैद सजाय भएको थियो । उनै कोइराला अहिले बस्नेतका दायाँबायाँ हुने गरेका छन् । आफूविरुद्ध समाचार बनाएको भन्दै पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको अभियोग लागेका बस्नेतलाई संसदमा पुर्याउनु संसदीय गरिमाको उपहास हुने एमालेकै कार्यकर्ताहरु बताउँछन् । तर, ‘ज्यानको मायाँ’ भएकोले धेरै बोल्न नसक्ने उनीहरुको भनाइ छ ।

पत्रकारहरुको आन्दोलनपछि विराटनगरमा गुण्डाराज सेलायो । तर, बस्नेत सांसदको उम्मेदवार बनेपछि फेरि गुण्डाराज मौलाउने हो कि भन्न त्रास छाउन थालेको छ । करिब एक महिला अघि उनकै सहयोगी युवा संघका नगर अध्यक्ष किरण लामाले मिटरव्याजको पैसा नतिरेको भन्दै दुई युवालाई अपहरण गरि चरम यातना दिएका थिए । लामा अहिले जेलमा छन् ।

बस्नेतको चुनाबी अभियानले विराटनगरको राजनीतिक, औद्योगिक, व्यापारिक, शैक्षिक र सामाजिक क्षेत्र तरंगित बनेको छ । महागनरबासीले भित्रभित्रै प्रश्न गर्न थालेका छन्, ‘के विराटनगरमा फेरि डनगिरी र दादागिरीको राज स्थापित गर्ने हो ?’ तर, उनीहरु खुलेर बस्नेतविरुद्ध बोल्न सक्दैनन् ।

पर्शुराम प्रवृत्तिका कारण विराटनगरले एक दशकसम्म बद्नामी कमाएको थियो । ‘धाकधम्की, चन्दा अशुली, अपहरण र कुटपिट’ उनका पर्याय थिए । अबको निर्वाचनमा त्यसलाई पुरस्कृत गर्ने कि सजाय गर्ने भन्ने प्रश्न विराटनगबासीसामु रहेको मोरङका पत्रकारहरुको भनाइ छ ।

विराटनगरमा आपराधिक गतिविधिको जग बसाउने पर्शुरामको कारण यस क्षेत्रका ठेकेदार, उद्योगी र व्ययवसायी आजित थिए । त्यसबाट मुक्ति मिल्ला कि भनेर हुनसक्ने उनीहरुमध्ये केहि अहिले बस्नेतलाई चुनाब जिताउने अभियानमा छन् ।

पर्शुराम र उनको समूहको संलग्नता पछिल्लो समय मिटर ब्याजदेखि अवैध हुण्डी कारोबारसम्म फैलिएको छ । ‘अपराधको जालो विस्तार गर्न उनी प्रदेशसभामा निर्वाचित भई नीतिगत र संरचनागत रुपमा दह्रो बन्न चाहेको देखिन्छ’ एमालेकै कार्यकर्ताहरु भन्छन् ।

पछिल्लो समय विराटनगरमा हुने गरेको मिटरब्याजको अपराधमा समेत बस्नेतको संलग्ना देखिएको सुरक्षा स्रोतको दावी छ । उनले समूह परिचालन गरेर मिटर ब्याजमा पैसा लगानी गर्ने र असूलीको धन्दा सञ्चालन गरिरहेका छन ।

पर्शुरामबाट उनकी श्रीमति पनि पीडित छन् । सुरुमा जेठी श्रीमतिलाई वास्ता नगर्ने उनले कान्छी श्रीमतीलाई कागजातमा गलफ्दी गरेर सम्पत्तीबाट समेत बेदख्ल गरिदिएका छन् । अहिले उनी अलग्गै बसेका छन् । बस्नेत भने जेठी श्रीमतीको साथमा छन् ।

कस्तो छ मतको गणित ?
गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केदार कार्की दोब्बर मतले अगाडि छन् ।

विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको मत परिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढी छ ।

वडागत मतका आधारमा यहाँ सत्ता गठबन्धन अगाडि छ । यहाँ सत्ता गठबन्धनको १२७७४ मत छ । नेकपा एमालेको यहाँ ६३४२ मत छ । सो क्षेत्रमा काँग्रेसको मत ९६१५, माओवादीको १९१४, एकीकृत समाजवादीको १२४५ र जसपाको २००९ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्