Logo
Logo

विश्वप्रकाश शर्माविरुद्ध परेको उजुरी तामेलीमा


1.1k
Shares

काठमाडौं । झापा क्षेत्र नं. १ का नेपाली कांग्रेसका प्रतिनिधिससभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेर निर्वाचन आचारसंहिता उग्लंघन गरेको आरोपमा उजुरी परेको थियो । तर, उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।

शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो । गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरतास्वरुप अमेरिकाबाट संकलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको शर्माले बताएका थिए ।

साथै उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै उनले स्पष्टीकरण पेश गरेका थिए ।

निर्वाचन आयोगका आयुक्त एवम् आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीको आदेशमा लेखिएको छ, ‘मिसिल संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिंदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’

प्रतिक्रिया दिनुहोस्