Logo
Logo
टिप्पणी

दीपक बोहरा अर्थात भ्रष्टाचारका पर्याय


7.9k
Shares

रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री दीपक बोहरा रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । तर, स्वास्थ्य समस्याका कारण उनले कुनै पनि चुनावी सभामा भाषण गरेका छैनन् ।

बोहरा चुनावी कार्यक्रममा सहभागी त हुन्छन् तर भाषण गर्दैनन् । कार्यकर्ताका अनुसार उनलाई चिकित्सकले ‘भोइस रेस्ट गर्नु’ भनेका छन् । तर, के समस्या भएको हो भन्ने कसैले खुलाएका छैनन् । तर, उनी बोल्न सक्दैनन् !

बोहराले आफ्नो प्रचारमा नेता कार्यकर्ता परिचालन गरेका छन् । उनका चुनावी एजेण्डाहरू उनै कार्यकर्ताले जनतालाई सुनाउने गरेका छन् । रमाइलो पक्ष के हो भने उनका कार्यकर्ता ‘विकास प्रेमी दीपक बोहरा’ भन्दै नारा लगाउँछन् ।

दीपकका कार्यकर्ताकै नारालाई आधार मान्ने हो भने उनले रूपन्देहीमा धेरै विकास गरेको हुनुपर्ने हो । अर्थात्, रूपन्देहीको विकासका लागि बोहरा निर्विकल्प हुन् । तर, जनताले पत्याउन सक्ने कुनै आधार छैन ।

उनी कुनै न कुनै रुपमा निरन्तर लाभको पदमा रहँदै आएका छन् । तर, रूपन्देहीमा दीपक बोहराको नेतृत्वमा भएको एउटा पनि विकासको काम जनतालाई थाहा छैन । 

दीपकले पाएको राजकीय अवसर जिल्लावासीको हितमा प्रयोग भएको नदेखेका रुपन्देहीवासीले स्वयम् दीपकले गरेका आर्थिक तथा भौतिक प्रगति राम्ररी देखेका छन् । 

दीपक हालसम्म ९ पटकसम्म मन्त्री भइसकेका नेता हुन् । अनेक गर्दै मन्त्री पदको संख्या थप्दै गएका बोहराले हालसम्म रुपन्देहीबासीका लागि भने सिन्को भाँचेका छैनन् । कार्यकर्ता भने उनैलाई विकास प्रेमी नेता भन्दै प्रचार गरिरहेका छन् । त्यो भन्दा लाजमर्दो अरु केही हुँदैन ।

बोहरा पञ्चायत कालमा दुई पटक राष्ट्रिय पञ्चायत सदस्य र २०७० मा संविधानसभा सदस्य बने । पञ्चायत कालमै तीन पटक पर्यटन र दुई पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने । गणतन्त्रपछि पनि बारम्बार मन्त्री बने । तर, रूपन्देहीका लागि माखो मारेनन् ।

रुपन्देहीबासी दीपकसँग प्रश्न गर्छन्– 
–९ पटकसम्म मन्त्री हुँदा रूपन्देहीको विकासका लागि के गर्नु भयो ?
– तीन पटक पर्यटनमन्त्री बन्दा रूपन्देहीको पर्यटन विकासमा के गर्नु भयो ?
– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तपाईंको के योगदान छ ?
– रूपन्देहीमा हाल जारी विकासको गतिमा तपाईंको के योगदान छ ? 

आज यी प्रश्नहरूको जवाफ दिने हैसियत वा नैतिक बल बोहरासँग छैन ।

२०५३ सालको सेरोफेरोमा लुम्बिनी अञ्चलका सबै सांसद भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सामूहिक निवेदन लिएर प्रधानमन्त्री समक्ष पुगे । त्यतिखेर दीपक बोहरा कहाँ थिए ?

आफूलाई विकास प्रेमी नेताको रुपमा उभ्याउन चाहने दीपक बोहरालाई हेक्का हुनुपर्छ– यो विमानस्थलका लागि भैरहवाका कांग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको भूमिका महत्वपूर्ण छ । २०७१ मा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलन्यास गरेका हुन् । 

बेलहिया–बुटवल ६ लेनको सडक, भैरहवा विशेष आर्थिक क्षेत्र (सेज), निर्माण हुने क्रममा रहेको एकीकृत जाँच चौकी (आइसीपी), भैरहवा–परासी–लुम्बिनी हुलाकी सडक लगायत महत्वपूर्ण योजनामा तपाईंको योगदान के छ ? भनेर कसैले प्रश्न गरे के जवाफ छ दीपकसँग ? पक्कै जवाफ छैन ।

अनि के र कुन आधारमा आफूलाई विकास प्रेमी नेता भनेर स्याल हुँइया पिट्नु ?  जनतालाई झुक्याउने र पुनः थाङ्नामा सुताउने सड्यन्त्र बाहेक केही होइन ।

आफूलाई विकास प्रेमी नेताका रुपमा चिनाउन चाहने दीपक निर्वाचनको बेला अनेक आश्वासन बाड्छन् । त्यो गर्छु, यो गर्छु भन्दै मतदातालाई सुक्याउँछन् । तर, निर्वाचित भएपछि केही गर्दैनन् ।

टाढा जानु पर्दैन । पछिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा २५ बेडको भीम अस्पताललाई स्तरोन्ती गर्दै ५० बेडको बनाए भन्दै अस्पतालमै आएर भाषण गरे । तर, अस्पतालको स्तरोन्नती भएन । पछि लुम्बिनी प्रदेश सरकारले ५० बेडमा स्तरोन्तनी गर्यो ।

अनि कसरी पत्याउने विकास प्रेमी नेता भनेर ?

आर्थिक अनियमितताका पर्याय
२०७३ सालमा आपूर्तिमन्त्री हुँदा बोहराले ठूलो आर्थिक अनियमितता गरे । देशभर भेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले भूमाफिासँग मिलेर जग्गा किन्यो । त्यसमा बोहराको संलग्नता कतै लुकेन ।

रूपन्देहीको रोहिणी खोला किनाराको १४ बिगा ७ कट्ठा जग्गा भूमाफियासँग मिलेर चलनचल्तीको मूल्यभन्दा तेब्बर लगाएर खरिद गरे । 

जग्गा धनिबाट उक्त जग्गा दलालहरुले आफ्नो स्वामित्वमा ल्याएर तत्कालै निगमलाई बेचेका थिए । कौडीका भाउमा किनेर राज्यलाई महँगोमा बेची करोडौं रुपैयाँ झ्वाम पार्ने समूहमा दीपक बोहरा पनि थिए । 

प्रति कट्ठा बढिमा डेढ लाख रुपैयाँमा उपलब्ध हुने उक्त जमिन निगमले प्रति कट्ठा १० लाख ७५ हजार रुपैयाँमा किनेको थियो । 

बोहरा २०६७ सालमा वन तथा भू–संरक्षण मन्त्री हुँदा अर्को चर्चिकत काण्ड भयो । २०६६–६७ मा तराई र भित्रि मधेशमा गरेर अवैध रुपमा १ करोड क्युबिक काठ काटियो । अर्बौ रुपैयाँको भ्रष्टाचार गरियो । यस घटनामा तत्कालीन प्राविधिक सहितको संसदको प्राकृतिक श्रोत साधन उपसमितिले १६ देखि २० अर्व रुपैयाँको भ्रष्टाचार भएको ठहर गरेको थियो ।

यस घटनमा पनि वन मन्त्री, सचिवदेखि वन विभाग, क्षेत्रिय वन निर्देशनालय, जिल्ला वन कार्यालयका कर्मचारी, राजनीतिक कार्यकर्ता र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीसम्मको संलग्नता देखिएको थियो ।

यसरी छलछाम र भ्रष्टाचारको पर्याय बनेका दीपक बोहरा यसपटक ‘विकास प्रेमी नेता’ भन्दै चुनावी मैदानमा छन् । यसपटक पनि उनैलाई जिताउनु भएको रूपन्देहीबासी जनताले आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु हो ।

प्रतिक्रिया दिनुहोस्