Logo
Logo

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ भदौं । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा बन्द हुने भएको छ । धावनमार्गलगायतका जीर्णाेद्धारको दोस्रो चरणको मर्मत गर्नुपर्ने भएका विमानस्थल बन्द हुने भएको हो ।
विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उनले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोड निर्माण लगायतको काम हुने जानकारी दिए ।
रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीबारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ओसाका उडान लक्षित गर्दै उडानको समयमा (राति २ देखि साढे २ बजेसम्म) विमानस्थल खुला गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइसकेको छ ।
गत बिहीबारदेखि निगमले रातको साढे २ बजे ओसाका उडान शुरु गरेको छ । सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाका उडान हुनेछ ।
‘निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्णरूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौँ’, क्यानका महानिर्देशक पोखरेलले भने, ‘हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौँ, ३० मिनेटमा निगमले उडान गरिसक्नुपर्ने हुन्छ ।’
ओसाका उडानको समय र विमानस्थल मर्मतको काम शुरु हुने समय जुधेपछि निगमले क्यानलाई उडानको समयमा विमानस्थल सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाएको थियो ।
पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । रातको १० बजे बिहानको ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्