Logo
Logo

तस्करीको आडमा एआइजी हुने प्रयास असफल


2.2k
Shares


काठमाडौं । चुनावको बेलामा नेपाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त भएका छन् । एआइजी रिक्त भएपछि केही विभाग निमित्तको भरमा छन् ।


एक साताअघि उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआइजी रबिन्द्र धानुकले अवकाश पाए । ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । एआइजीको अवकाशको उमेरहद बढाउनेबारे मन्त्रिपरिषद्मा छलफल भएपनि निर्वाचन आयोगले सहमति नदिएपछि उनले अवकाश पाएका हुन् । त्यसअघि १५ कात्तिकमा एआइजी अरुण बिसीले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै कार्य विभाग, अपराध अनुसन्धान विभाग तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय नेतृत्वविहिन बनेका छन् ।


यसअघि नै मुकुन्द आचार्य र विश्वराज पोखरेलले अवकाश पाएको एआइजीको दुई दरबन्दी रिक्त छ । चुनावको मुखमा रिक्त पदमा बढुवा हुने सम्भावना कम छ, तर आकांक्षीहरुको दौडधुप भने तिव्र छ ।


खासगरी सिनियर टोलीका तीन डिआइजी मर्यादा नै भुलेर दौडधुप गरिरहेका छन् । डिआइजीहरु नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसअउ आलम खाँ यसरी एआइजी बढुवाको दौडधुपमा लागेका हुन् ।


तीनै जना हाल प्रदेश प्रहरी प्रमुख छन् । उपाध्याय लुम्बिनी, आचार्य सुदुरपश्चिम र खाँ मधेस प्रदेशको प्रहरी प्रमुख छन् । चुनावको बेला उनीहरु चुनावी सुरक्षामा केन्द्रीत हुनुपर्नेमा बढुवाको लागि नेताहरुको घर धाउन थालेपछि आइजिपी धिरजप्रताप सिंहले समेत उनीहरुलाई कारबाहीको चेतावनी दिएको स्रोत बताउँछ । तीनै जनाले पछिल्लो समय कमाउ अभियान चलाएका छन् । सीमा नाकामा तस्करीको सेटिङ मिलाएर उनीहरु कमाउने अभियानमा छन् । त्यही पैसा खर्च गरी एआइजी हुने उनीहरुको दाउ छ ।


तर, पनि सरकारले चुनावअघि बढुवा नगर्ने भएको छ । चुनावपछि भने उनीहरुको भन्दा यसपछिको आइजिपीको दाबेदार टोली बढुवामा पर्ने सम्भावना छ ।


जसमा बसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, किरण बज्राचार्य, सन्दीप भण्डारी, मिरा चौधरी, रामदत्त जोशी, किरण राणा, दुर्गा सिंह लगायत छन् । यही टोलीबाट भावी आइजिपी चयन हुने भएको र व्यवसायिक रुपमा पनि अब्बल भएकाले यही टोलीबाट बढुवा हुने सम्भावना छ । चुनावपछि बढुवा हुँदा आफुहरु नपर्ने संकेत पाएपछि सियिनर टोलीका तीन डिआइजीले अहिले नै दौडधुप गरेका हुन् । निर्वाचन भएपनि नियमित बढुवा गर्न पाइने भएकाले उनीहरुले लबिइङ गरेका थिए तर पनि उनीहरु सफल नभएको स्रोत बताउँछ । बढुवामा पर्न उनीहरुले प्रहरीको व्यवसायिकता भने गुमाएका छन् । नेताको आदेशपालकको रुपमा काम गर्दै आएका छन् ।


अब सरकारले निर्वाचन लगत्तै एआइजी बढुवा गर्ने भएको छ । जसमा अब बसन्त कुँवरको टिमबीच प्रतिस्पर्धा हुने देखिन्छ । एक दर्जनश शक्तिशाली डिआइजीबाट चार जना छान्नुपर्ने भएकाले बढुवा त्यती सहज भने छैन ।

प्रतिक्रिया दिनुहोस्