Logo
Logo

सुकुमबासीलाई हटाउने होइन, नीति बनाएर व्यवस्थित बनाउनुपर्छ : प्रकाशमान सिंह


252
Shares

काठमाडौं । काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं वडा नम्बर ३१ जागृतिनगरका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बस्तीका मानिसलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार बिहान आयोजित चुनावी सभामा बोल्दै उनले अहिले अव्यवस्थित बस्तीलाई अहिले सरकारले हटाउन खोज्नु निर्वाचन आचारसंहिता विपरीत भएको समेत बताए । उनले भूमि आयोगको प्रतिवेदन नआएसम्म उक्त बस्ती हटाउन नहुने समेत बताए ।

बागमती नदी किनारका वस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘वागमती सभ्यता सर्वाधिकार सम्पन्न समिति किन नहोस्, खासगरेर महानगरपालिका किन नहोस्, राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतिक्षामा बस्नुपर्छ ।’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

सुकुम्वासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नुभएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा बोल्दै आएको छु ।’

भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीहरुलाई जबरजस्ती हटाउन पटक–पटक सूचना जारी गरिएको विरोधमा आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शनसमेत हुँदैछ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेको नेता सिंह काठमाडौं–१ का बलियो दावेदार हुन् । उनी यस पटक पनि चुनाव जित्ने दावीका साथ प्रचारमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्