काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
उनले निर्वाचनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउँदै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।
यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिकरुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट ‘समर्पण राष्ट्रका लागि’ नामक कार्यक्रम सञ्चालनमा छ ।
उनले सङ्गठनमा भएका गतिविधिबारेमा सशस्त्र प्रहरी कर्मचारी जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका सङ्गठनको एक ऐतिहासिक दस्तावेज भएको पनि बताए ।