Logo
Logo

उपल्लो डोल्पामा हेलिकोप्टरले पुर्‍यायो कर्मचारी र निर्वाचन सामग्री


252
Shares

फाइल फोटो

डोल्पा । उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको हो ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

त्यहाँ पैदलमार्फत पुग्न एक सातासम्म लाग्ने भएकाले उक्त सामग्री हेलिकोप्टरमार्फत पठाइएको हो । सुवेदीका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ ।

भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टर प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

बिहीबार शे–फोक्सुण्डोको वडा नं ३ साल्दाङ्ग मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अन्य मतदान केन्द्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठूयँुमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्