Logo
Logo

लुम्बिनी : ४१० निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा


567
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ । लुम्बिनीका १२ जिल्लामा १ हजार ६ सय ५० मतदानस्थल बनाइएका छन् ।

तिनमा ४ सय १० निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि लुम्बिनी प्रदेश संवेदनशील प्रदेशमा राखिएको छ ।

७ सय १४ संवेदनशीलताको सूचीमा छन् । हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेश कतिपय भौगोलिक विकटताका कारण पनि संवेदनशील छन् ।

निर्वाचन सुरक्षाका लागि लुम्बिनीमा १० हजार २ सय ९ सुरक्षाकर्मी खटेका छन् । १८ हजार ६ सय म्यादी खटाइएको छ । प्रदेशमा निर्वाचनलाई शान्तिपूर्ण बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताए ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । खुल्ला सीमा भएकाले सीमा बन्द गरिएपनि नागरिक ओहोरदोहोर गर्ने धेरै बाटाहरु छन् ।

प्रदेशमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यसअघि निर्वाचन बहिस्कारसहितका कार्यक्रम तथा केही स्थानमा विस्फोट गरेकाले केही त्रास देखिएको छ ।

यस्ता विषयमा सचेत रहन प्रदेशस्तरमा सुरक्षा कमान्ड पोष्ट निर्वाचन सेल गठन गरेर मतदानस्थल, मतदान केन्द्र र मतगणना क्षेत्रसम्मको छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको छ ।

निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले लुम्बिनी प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरुलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध गराएको छ ।

२६ संघ तथा ५२ प्रदेश क्षेत्र रहेको लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।

धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँचीमा संघतर्फ एक–एक र प्रदेशतर्फ दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्