Logo
Logo

निर्वाचनमा तीन लाख सुरक्षाकर्मी परिचालन, मोबाइलबाट सूचना आदानप्रदान गर्दै प्रहरी


1.6k
Shares

काठमाडौं । सरकारले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि तीन लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।

सरकारले मंसिर ४ गते हुने निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबाट तीन लाख जनशक्ति परिचालन गरेको हो ।

यो चुनावका लागि नेपाली सेनाले ७५ हजार सैनिक प्रत्यक्ष रुपमा खटाएको छ । त्यस्तै नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी र ७१ हजार ६९३ प्रहरी कर्मचारी खटाएको छ ।

मतपत्र छपाइदेखि हवाइ गस्तीसम्म गरेर देशैभर ७५ हजार सैनिक फिल्डमा खटिएको सैनिक प्रवक्ता सहायक–रथी नारायण सिलवालले जानकरी दिए । सेनाले तेस्रो घेरामा रहेर निर्वाचनको सुरक्षा गर्नेछ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सुरक्षाका लागि प्रहरीले देशका ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी र म्यादी प्रहरी परिचालन गरेको बताए । मतदानस्थलसहित सम्पूर्ण सुरक्षाका लागि सबै काम पूरा भएको प्रहरीले जनाएको छ ।

प्रहरीले निर्वाचन सुरक्षाका लागि सरकारबाट बजेट पाएका १ सय ८०, अनुदानमा पाएका ५० र भाडामा रहेका १ हजार ४ सय गरी १ हजार ६३० वटाभन्दा धेरै सवारी साधनहरू परिचालन गरेको प्रवक्ता राईले बताए ।

उनका अनुसार आवश्यकताका आधारमा ती सवारी ७७ वटै जिल्लामा वितरण गरिएको छ । यसपटक प्रहरीले सञ्चारका साधन खरिद नगरेर भएका सञ्चार सेटबाट र निर्वाचनमा खटिएका कमान्डरको मोबाइलबाट सूचना आदानप्रदान गर्नेगरि व्यवस्था मिलाएको छ ।

प्रहरीसँग अहिले ३२ वटा स्याटेलाइट फोन रहेको र ती सबै प्रयोग गरेको प्रवक्ता राईले बताए । प्रहरीले यसपटक पनि निर्वाचनमा आवश्यक पर्ने साना हतियार नेपाली सेनाबाट सापटी लिएर काम चलाएको छ ।

स्थानीय तह निर्वाचनमा प्रहरीले हतियार सापटी लिएर काम चलाएको थियो । प्रहरीले लामो समयदेखि हतियार खरिद गर्न सकेको छैन । हतियार खरिदमा विवाद आएपछि खरिद प्रक्रिया रोकिएको छ ।

यस्तै निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी पनि फिल्डमा खटिएको छ । सशस्त्र प्रहरीले निर्वाचनका लागि ३४ हजार ८३८ जना खटाएको सशस्त्रका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

सशस्त्रले ७७ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा प्रहरी परिचालन गरेको छ ।

सशस्त्रले निर्वाचनका लागि छुट्ट्याएको बजेटबाट ६० वटा खरिद, ४० वटा अनुदान र १ हजार १७१ वटा भाडामा लिएर सवारी साधन परिचालन गरेको छ ।

सशस्त्र प्रहरीले निर्वाचन अवधिका लागि नेपाल–भारत र नेपाल–चीनका सीमा नाकाहरूमा आवतजावत बन्द गर्ने काममा पनि सहजीकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्