Logo
Logo

एमाले उम्मेदवार पक्राउ परेपछि बुढानिलकण्ठमा ठूलो संख्यामा प्रहरी परिचालन


51.6k
Shares


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा एमालेका उम्मेदवारसहित स्थानीय नेताहरु पक्राउ परेपछि बुढानिलकण्ठ क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपको अवस्था रोक्न प्रहरी परिचालन भएको हो ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार समेत रहेका एमाले काठमाडौं अध्यक्ष दीपक निरौला ,बुढानिलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका– ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । त्यहाँ पैसा बाँड्न गएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, उनीहरुले भने बिरामीलाई भेट्न गएको दाबी गरेका छन् ।
सो घटनापछि बुढानिलकण्ठ प्रभागअघि ठूलो संख्यामा भिड जम्मा भएको छ । अन्य पार्टीका कार्यकर्ताले उनीहरुलाई थुनामा राख्न माग गरेका छन् भने एमाले कार्यकर्ताले छोड्न दबाब दिइरहेका छन् । जसकारण प्रहरी ठूलो संख्यामा परिचालन भएको हो ।
काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । यो प्रकरणले पोखरेल पनि विवादमा तानिएका छन् । पक्राउ परेकालाई छाड्ने प्रहरीमाथि ठूलो दबाब परेको छ । प्रहरीले घटनाबारे औपचारिक केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्