Logo
Logo

क्षयरोगको हाकिमद्वारा सवारीसाधन दुरुपयोग


1.8k
Shares

काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. रिता जोशी भण्डारीको कार्यकाल आगामी फागुन १२ गते सकिंदैछ । कार्यकाल समाप्त हुने मिति नजिकिंदै गएसँगै उनी केन्द्रको स्रोत साधनको व्यापक दुरुपयोग गर्नुका साथै भ्रष्टाचारमा लिप्त हुन थालेको समाचार स्रोतले बताएको छ ।

समाचार स्रोतका अनुसार, जागिरको आखिरी समयमा बालुवाटारको कृपाले केन्द्रको निर्देशक हुन पुगेकी जोशीले सुविधामा पाएको सरकारी गाडी छोरालाई निर्धक्क प्रयोग गर्न दिएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रमाना लिएसँगै सुविधाको गाडी समेत उनले लगेकी थिइन् । बा १ झ ६९४१ नम्बरको गाडी छोराले प्रयोग गर्ने गरेको बताइन्छ । उनका छोरा चिकित्सक हुन् र ग्रान्डी अस्पतालमा कार्यरत छन् ।

समाचार स्रोतका अनुसार, मन्त्रालयबाट लिएको सुविधाको गाडीको बदला डा जोशीले क्षयरोग केन्द्रको नाममा रहेको निर्देशकले प्रयोग गर्दैआएको बा १ झ ७७०१ न को प्राडो मन्त्रालय पठाएकी थिइन् । हाजिर भएलगत्तै उक्त प्राडो गाडी मन्त्रालय पठाइएको भए पनि मन्त्रालयले वीर अस्पताललाई प्रयोग गर्न दिएको छ । अहिले उक्त गाडी वीरका प्रशासनका उपसचिव सागर मिश्रले उक्त प्राडो दुरुपयोग गरिरहेका छन् । जबकि, उपसचिवलाई गाडी सुविधा दिने ब्यवस्था नै छैन । त्यहीँमाथि महंगो प्राडो उनले दुरुपयोग गरेका छन् । क्षयरोग केन्द्रकी निर्देशक जोशी केन्द्रकै अर्को बा २ झ ३४३६ नम्बरको गाडी चढिरहेकी छन् ।

गत भदौ १ गते क्षयरोग केन्द्रमा हाजिर भएकी निर्देशक जोशीले ३ महिनामै १६ वटा काज सुविधा लिएको समाचार स्रोतले बताएको छ । कामै नभए पनि कार्यकक्षमै बसी काजसुविधा लिने गरेको आरोप उनीमाथि लाग्दैआएको छ । लेखा शाखा स्रोतका अनुसार निर्देशक जोशीले सानाभन्दा साना आर्थिक बिषयमा समेत चासो राखी झन्झट दिने गरेकी छन् । बालुवाटारको रवाफ देखाएर कर्मचारीलाई त्रसित बनाउने गरेको उनीमाथि कर्मचारीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्