काठमाडौं । २०६२–०६३ को राजनीतिक परिवर्तनयता मधेस राजनीतिको केन्द्रमा रहँदै आएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वनाक हार बेहोर्नु परेको छ ।
मधेसी जनअधिकार फोरम नामको एनजीओलाई राजनीतिक दलमा रूपान्तरण गरेर नेपाली राजनीतिमा उदाएका उपेन्द्र विखण्डनकारी राजनीतिक धारबाट उदाएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत उर्फ सीके राउतसँग ठूलो मतान्तरमा पराजित भए ।
२०६४ र २०७० मा सुनसरी–५ बाट निर्वाचित उपेन्द्रले अघिल्लो निर्वाचन यसै क्षेत्रबाट जितेका थिए । तर, यसपटक भने उपेन्द्रको विजय यात्रामा ब्रेक लाग्यो । त्यो पनि फरक पृष्ठभूमिका उम्मेदवारसँग पराजित भएर । यो जित र हार दुवैको दूरगामी अर्थ रहन्छ ।
अघिल्लो निर्वाचनमा उपेन्द्रले २१ हजार भन्दा धेरै मत ल्याएका थिए । यसपटक भने सीके राउतको भन्दा झण्डै २० हजार कम मत मात्र प्राप्त गरे । यसले मधेसी जनता के चाहन्छन् भन्ने छनक दिन सक्छ !
पुष ५ को ओली प्रतिगमनपछि उपेन्द्र प्रतिगमनविरुद्धकाे गठबन्धनमा थिए । तर, अन्तिम समयमा उनै ओली नेतृत्वको एमालेसँग तालमेल गर्न पुगे । उपेन्द्रको जितका लागि एमाले सारथी बन्न सकेन । हार बेहोर्नु त छँदै थियो ।
वर्तमान व्यवस्थाका हिमायतीको पराजय
संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुमा उपेन्द्र नेतृत्वमा भएको ‘मधेस विद्रोह’को ठूलो योगदान छ ।
प्रस्तुत मुद्दाहरु छोडेर अन्तरिम संविधान जारी हुँदा उपेन्द्रकै नेतृत्वमा मधेस विद्रोह भएको थियो । वर्तमान व्यवस्थाका लागि उपेन्द्र नेतृत्वमा भएको मधेस विद्रोहमा धेरैले ज्यानको आहुति दिएका छन् ।
त्यति मात्र होइन, उपेन्द्र नेतृत्वमा भएको मधेस विद्रोहले पहाडी शासकलाई मधेसको ताकत देखाएको छ । र, मधेस र मधेसी ‘खास नेपाली’ हुन् भन्ने भाष्य निर्माण गरेको छ । यस अर्थमा मधेसमा उपेन्द्र उदयको युगीन अर्थ छ ।
व्यालेटबाट विखण्डन अनुमोदन !
उपेन्द्रको नेतृत्वमा भएको मधेस विद्रोह वर्तमान व्यवस्थाका लागि हो । यो देशलाई सबै कोणबाट समृद्ध बनाउने उद्देश्य हो । तर, सीके राउतको उद्देश्य त्यो होइन ।
वर्तमान नेपालको प्रशासनिक सीमाबाट मधेस क्षेत्रलाई अलग्याएर छुट्टै ‘मधेस देश’ बनाउने उद्घोष गरेका सीकेले निर्वाचन जित्नुको अर्थ व्यालेटबाट विखण्डन अनुमोदन गर्न खोजिएको भन्दा अनर्थ लाग्दैन होला !
जनता जनार्दन हुन् । यस अर्थमा जनताले जाहेर गरेको मतमा प्रश्न गर्न उचित मानिन्न । तर, विखण्डन चाहने सीकेलाई मत दिएर निर्वाचित गराउने जनताको अभिमतप्रति शंका गर्ने ठाउँ रहन्छ, प्रश्न गर्न मिल्छ । के तपाईंहरुले विखण्डन त अनुमोदन गर्नु भएन ?
मधेसी जनतालाई आज निर्धक्क भएर ‘म मान्छे हुँ’ भन्ने परिस्थिति बनाएको उपेन्द्रहरुले नै हो । त्यसको जग मधेस आन्दोलन अग्रजहरुले बसालेका थिए । तर, आज मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा एक पाइला पनि नसारेका सीकेहरुलाई जिताएर उपेन्द्रहरुलाई हराउनु दुःखद हो ।
यद्यपि, आवरणमा हेर्दा सीकेले विखण्डनको मुद्दा छोडेर मूलधारको राजनीतिक लिग समातेको देखिन्छ । तर, सीके र उनका समर्थकमा पलाएको विखण्डनको टुसा झनै मौलाएको छ । त्यो भविष्यको खतरा हो ।
उपेन्द्रहरुलाई फर्ममा फर्कने अवसर
उपेन्द्रका राम्रा योगदान सम्मानकै कुरा हो । तर, उपेन्द्रहरुले पनि धरातल भने छोडेकै हुन् । उनीहरुलाई सधैं लाग्ने आरोप– ‘सत्ता सवथोक माने, जनतालाई केही ठानेनन् ।’
उपेन्द्रको उदय र त्यसपछिको घटनाक्रम हेर्दा त्यस्तै लाग्छ । उपेन्द्रहरु निरन्तर सत्तामै देखिन्छन् । तर, मधेसी जनजीवनमा भने खासै सुधार भएन । अधिकार त भयो तर अन्य कुरा बाँकी नै रह्यो ।
उपेन्द्रहरुसँग आशा गर्ने अझै छन् । त्यसैले त ‘हामीलाई सम्झनुपर्थ्यो तर बिर्से’ भन्दै जनताले गुनासो गरिरहेका हुन् । तर, पहाडतिर (काठमाडौं)को यात्रा तय भएपछि उपेन्द्रहरुले मधेस राम्ररी फर्केर हेर्न पनि भ्याएका छैनन् ।
यसअर्थमा पनि जनता विकल्प खोज्ने अवस्थामा पुगेको हुनुपर्छ । तर, भएको नराम्रो भयो भनेर रोजेको अर्को झनै नराम्रो पर्यो भने समस्या हुन्छ । यो निर्वाचनमार्फत राम्रो रोज्ने सप्तरी–२ को निर्णय त्यस्तो नहोस् ।
उपेन्द्रका लागि यो पराजय सवथोक अन्त्य होइन । बरु, लयमा फर्कन अर्थात मधेस फर्कन राम्रो अवसर र समय हो । त्यसैले उपेन्द्रहरु पुनः मधेस फर्कनु पर्छ र मधेसमा अनुमोदन हुन खोजेको विखण्डन निस्तेज पार्नुपर्छ ।