Logo
Logo

सशस्त्र प्रहरीको ठेक्कामा चलखेल


8.1k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलको ठेक्कामा चलखेल भएको छ । आइजीपी राजु अर्यालले आफ्ना निकटस्थ एक ठेकेदारलाई अर्कैको कम्पनीबाट बोलपत्र पेश गर्न लगाई ठेक्का दिन एआइजी नारायणदत्त पौडेललाई निर्देशन दिएको आरोप लागेको छ ।
सशस्त्रले हालै टेण्डर गरेका चुस्ता, बुट, पार्का ज्याकेटलगायतका बिभिन्न सामानमध्ये ७ हजार पिस पन्चु(रेनकोट) ठेक्का देवेन्द्र पाठकलाई दिन लागिएको हो । पाठकको कम्पनीको अनुभव र योग्यता नपुगेकाले अर्काको कम्पनीबाट उनलाई काम दिन लागिएको सशस्त्र प्रहरी स्रोत बताउँछ । यसमा एआइजी पौडेल समेत मिलेका छन् ।


गुणस्तर तथा नापतौल विभागमा ७ बर्ष महानिर्देशक भएका विश्वबाबु पुडासैनीलाई भिनाजु नाता लगाउँदै सशस्त्रको ठेक्कापट्टा गर्ने पाठकले अर्कैको कम्पनीबाट सशस्त्रको पन्चुको बोलपत्र पेश गरेका छन् । ठेक्कापट्टाको एक कम्पनी खोलेर च्याँखे थाप्ने पाठक १६ नम्बर वडा नेपाली कांग्रेसका सभापति हुन् । उनी नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलमार्फत् समेत ठेक्कापट्टाका लागि भनसुन गराउने गर्दछन् । बालाजुको कांग्रेस पार्टीको कमिटीमा आवद्ध पाठकले तारकेश्वर घर भएका आइजीपी अर्याललाई आफूले नै नेताहरुसँग कनेक्सन मिलाएर आइजीपी बनाएको भन्ने गर्दछन् ।

पछिल्लो समयमा सशस्त्रका आइजीपी राजु अर्यालसँग निकटता देखाउँदै उनले सशस्त्रका टेक्कामा प्रभाव जमाउन थालेका छन् । ७ हजार पीस पन्चुको टेण्डरमा उनको कम्पनीले भाग लिन नपाउने भएपछि अर्का ठेकेदार टोपेन्द्र बीसीको तेजसम कम्पनीबाट टेण्डर हालेका छन् ।

आइजीपी राजु अर्यालले प्रशासन विभागका एआइजी पौडेललाई पाठकलाई पन्चुको ठेक्का दिन निर्देशन दिएको प्रशासन विभागका एक प्रहरीले बताए । सशस्त्रका खरिदको अख्तियारी आइजीपी अर्यालबाट पाएका एआइजी पौडेलले ठेकेदार बीसीलाई बोलाएरै पाठकलाई पन्चुको ठेक्का दिनका लागि आग्रह गरेका छन् । अरु सामानको ठेक्कामा हेर्ने भन्दै उनले बीसीको कम्पनीबाट पन्चुको काम पाठकलाई दिनका लागि सहमत गराएका छन् । र, केही दिनभित्र खोल्न लागेको टेण्डरमा बीसीको कम्पनी तेजसमबाट हालेको पन्चुको टेण्डर पाठकले पाउने गरी निर्णय एआइजी पौडेलले गर्दैछन् । पाठकलाई तेजसमबाट पन्चुको ठेक्का दिन सहयोग गरेका बीसीलाई सशस्त्र प्रहरीले ३७ हजार सेट चुस्ताको ठेक्का टोपेन्द्र बीसीको समूहलाई दिनेगरी सेटिङ एआइजी नारायणदत्त पौडेलले गरिसकेका छन् । ३७ हजार सेट चुस्ताको करिब १३ करोड रुपैयाँको ठेक्का बीसीले पाउने गरी सेटिङ भइसकेको छ । टेलिकमका कर्मचारी टोपेन्द्र बीसीले सालाका नाममा कम्पनी खोलेर सेना, प्रहरी र सशस्त्रमा ठेक्कापट्टाको काम गर्दैआएका छन् ।

सशस्त्रले ३७ हजार सेट चुस्ता, ३५ हजार जोर बुट, ३० हजार मिटर कटन सर्ट, २० हजार मिटर कटन पाइन्ट, ५ हजार थान म्याट्रेस(ओछ्याउने) १० हजार जोर स्वीटर, ७ हजार थान पन्चु, ५ हजार थान झु्ल, बेल्ट, पार्का ज्याकेट, अन्डरभेष्ट ट्राउजर, टोपी, ब्यारेट क्याप लगायतका टेण्डर गरेको छ । यीमध्ये चुस्ताको ठेक्का बीसीको समूहलाई दिनेगरी सेटिङ भइसकेको स्रोतको दाबी छ ।
शैलेन्द्र खनाल आइजीपी हुँदा ज्ञानेन्द्र बस्नेतको समूहले गुणस्तर विभागसम्म सेटिङ गरी चुस्ताको ठेक्का पाएको थियो । जुन चुस्ता गुणस्तरहीन भएकाले धुनासाथ खुइलिएको गुनासो आइरहेको छ ।अहिले फेरि सेटिङमै खरिद गर्न लागिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्