Logo
Logo

नवौं राष्ट्रिय खेलकुदको ट्रयाकसुट खरिदमा ३ करोड भ्रष्टाचार


1.7k
Shares

काठमाडौं । खेलकुद परिषदका सदस्य सचिवको नेतृत्वमा नवौं राष्ट्रिय खेलकुदको ट्रयाकसुट खरिदमा ३ करोड ३० लाख रुपैयाँ अनियमितता गरेका छन् ।

गएको असोज २८ गतेदेखि पोखरामा भएको नवौं खेलकुदमा खेलाडीका लागि ११ हजार सेट ट्रयाकसुट, भेष्ट र जुत्तामोजा खरिद गर्नेगरी टेण्डर गरिएको थियो । तर ३ हजार सेट ट्रयाकसुटसहितको सेट बुझाउँदै नबुझाई ३ करोड ३० लाख भुक्तानी दिइएको आरोप सदस्य सचिव घिसिङसहितका परिषदका कर्मचारीमाथि लागेको छ ।

११ हजार खेलाडीका लागि ११ हजार सेट भेष्ट, जुत्तामोजा र ट्रयाकसुट खरिद गर्ने गरी टेण्डर भएकोमा ठेक्का पाएको प्लस प्वाइन्ट ट्रेडिङले ८ हजार मात्र बुझाएको परिषद स्रोतले जानकारी दिएको छ ।

८ हजार सेट मात्र बुझाएर बाँकी ३ हजार नबुझाई ३ करोड ३० लाख भागशान्ति गरिएको आरोप परिषद नेतृत्वमाथि छ । एक मोजा, भेष्ट र ट्रयाकसुटसहित एक सेटको ११ हजार रुपैयाँमा आपूर्ति गर्नेगरी नयाँबानश्वरको प्लस प्वाइन्ट ट्रेडिङले पाएको थियो ।

प्लस प्वाइन्टसँग तेक्वान्दो खेलाडी दीपक बिष्टले ट्रयाकसुट खरिदको सेटिङ गरेका थिए । प्लस प्वाइन्टसँग खरिदको चाँजोपाँजोमात्र होइन, उक्त कम्पनीसँग बिष्टको साझेदारी नै रहेको चर्चा परिषदमा हुने गरेको छ ।

खरिद गरिएको ट्रयाकसुट पनि गुणस्तरहीन भएकाले खेल मैदानमै च्यातिएको गुनासो खेलाडीले गरेका थिए । ८ हजार बुझाएको सेटको पनि नियमाअनुसार पाउने कमिसन छँदैछ, ३ हजार जोर बुझाउँदै नबुझाई अनियमितता गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिनुपर्ने परिषदकै कर्मचारी बताउँछन् । प्लस प्वाइन्टले ट्रयाकसुटको भुक्तानी लिइसकेको स्रोतले बताएको छ ।

त्यसैगरी एसियन गेममा नेपालमै उत्पादित जुत्ता प्रयोग गर्ने भनेर फुटवयेर एशोसिएसनका उपाध्यक्ष नानीराज घिमिरेले चीनबाट ल्याएर खेलाडीलाई दिएको स्र्रोतले बताएको छ । घिमिरेको देखावटी जुत्ता उद्योग सितापाइलमा छ । तर उनले एसियन गेममा स्वदेशी जुत्ता आपूर्ति गर्ने भनेर झुक्याई टेण्डर लिई चीनबाट जुत्ता ल्याएर दिएका थिए ।

नेपाली जुत्ता भनेर चीनमा बनेको जुत्ता प्रयोग गरिएको अख्तियारले छानबिन गर्ने हो भने पुष्टि हुने परिषदकै कर्मचारी स्रोत बताउँछ । प्रतिजोर १ हजार ६ सय रुपैयाँमा परिषदबाट टेण्डर पाए पनि प्रतिजोर ८ सय रुपैयाँको न्यून गुणस्तरको जुत्ता खेलाडीलाई दिइएको छ ।

३ हजार सेट ट्रयाकसुट बुझाउँदै नबुझाई भुक्तानी दिइएकोबारेमा सदस्य सचिव घिसिङले भने– ‘मोबिलाइजेसनबापतको रकम दिइएको हो । भुक्तानी भइसकेको छैन ।’ जुत्ता पनि स्वदेशी उत्पादन भनेर चीनबाट गुणस्तरहीन ल्याइएकोबारेमा उनले सार्वजनिक खरिद ऐन अनुसार नै खरिद भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्