Logo
Logo

चुनावको मौकामा स्वास्थ्यमा करोडौंको सेटिङ


8.7k
Shares

काठमाडौं । चुनावको मौका छोपेर स्वास्थ्य मन्त्रालयका खरिदमा ठूलो घोटाला भएको छ । अल्ट्रासाउन्डको खरिदमा स्पेशिफिकेसनमा उल्लेख भए भन्दा फरक मोडलको सामान खरिद गरी रातारात भुक्तानीसमेत दिइएको स्रोतले बताएको छ ।

स्वास्थ्य सेवा विभाग मातहतको आपूर्ति महाशाखाले हालै एक सय ७८ वटा अल्ट्रासाउन्ड खरिद गरेको हो । लुम्बिनी हेल्थ केयरका सञ्चालकसँग यसरी सेटिङका आधारमा करिब ३० करोडको अल्ट्रा साउन्ड खरिद भएको हो । जसमा करिब सात करोड रुपैयाँ कमिसनको चलखेल भएको छ ।

सार्वजनिक खरिद नियमावलीविपरीत एउटा मोडलको अल्टा साउन्डको सम्झौता गरेर अर्काे आपूर्ति गरिएको स्रोत बताउँछ । अख्तियारले छानबिन गरे ठेकदारले मिलाउने सर्तमा त्यसरी भुक्तानी भएको एक कर्मचारी बताउँछन् ।

जबकि, यस विषयमा यसअघि नै आयोगमा उजुरी परिसकेको छ भने सर्वाेच्च अदालतसम्म मुद्दा परेको थियो । सेटिङमा लुम्बिनी हेल्थकेयरलाई ठेक्का दिन लागेको भन्दै उजुरी परेपछि थोरै स्पेशिफिकेसन संशोधन गरिएको थियो । तर, पनि बजेट ल्याउनेदेखिको सेटिङ भएकाले उनलाई नै ठेक्का दिइयो ।

उच्च स्तरको सेटिङ भएकाले कानून मिचेर यसरी सेटिङ मिलाइएको स्रोत बताउँछ । चुनावको मौका छोपेर विभागले हालै भुक्तानी दिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, पूर्व निर्देशक डा. रुद्र मरासिनी, हालका निर्देशक डा. सर्वेस शर्मा, आपूर्ति महाशाखा प्रमुख डा.सुरेन्द्र चौरसियाको मिलमेतोमा यसरी सेटिङ परेको हो ।

समाचार स्रोतका अनुसार, चौरसियालाई लुम्बिनी हेल्थ केयरका सञ्चालक पोष्टराज ज्ञवाली लगायत मेडिकल माफियाको समूहले सो महाशाखामा लगेको थियो । सो समूहसँग स्वास्थ्य सचिव डा.रोशन पोखरेलको पनि निकटता छ । सोझा स्वभावका मन्त्री भवानी प्रसाद खापुङलाई समेत गुमराहमा राखी यसरी करोडौंको खरिदमा अनियमितता भएको हो । मन्त्रीले विवादास्पद चौरसियलाई हटाउन खोज्दा माफियाकै कारण नसकेको मन्त्रालय स्रोत बताउँछ ।

सो सामान आवश्यकता भन्दा ठेकदारकै चलखेलमा खरिद गरिएको हो । एकातर्फ सरकारी अस्पतालमा त्यतीधेरै अल्ट्रा साउन्ड आवश्यक छैन भने अर्काेतर्फ त्यो चलाउने जनशक्ति समेत छैन । खरिद गरिएकामध्ये धेरै जसो स्टोरमा थन्किने निश्चित छ । विगतमा सम्बन्धित अस्पतालबाटै खरिद हुने गरेकोमा कमिसनकै लागि यसरी विभागबाटै खरिद भएको हो ।

महंगो स्वास्थ्य उपचारका कारण देशमा हजारौं नागरिक बिरामी हुँदा उपचार नपाई मर्नुपर्ने अवस्था छ । तर, स्वास्थ्यको बजेटको भने यसरी दुरुपयोग र भ्रष्टाचार हुँदै आएको छ । अब अचम्म यस्तो खुलेआम भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्