काठमाडौं । राजतन्त्र फाल्न उठेको जनआन्दोलनको रापले सडक दनदनी बलेको थियो । कमल थापा नारायणहिटी दरबारको जस्केलोबाट सडक नियाल्थे ।
काजु खाँदै बसेको ज्ञानेन्द्र शाह प्रश्न गर्थे–
कमल बाहिरको अवस्था कस्तो छ ?
कमल जवाफ दिन्थे–
महाराज दुईचार जना उफ्रेका हुन् । केही भएको छैन ।
दरबारबाट निस्केपछि तत्कालीन गृहमन्त्री कमल थापा आदेश दिन्थे–
सडक निस्केका सबलाई गोली ठोक ।
अकबरी राजावादी कमलको राजनीतिक यात्रा ओरालो लागेको यही दिनदेखि हो । किनकि, वर्तमान व्यवस्थाका लागि भएको आन्दोलन दबाउन सुरक्षा निकायलाई ‘गोली ठोक’ भन्ने कमल नै थिए ।
सडक आन्दोलनले राजतन्त्र ढल्यो । राजनीतिक इमानदारिताकै कुरा गर्ने हो भने गणतन्त्रपछि कमल थापालाई जेल जाक्नुपर्ने थियो । तर, रुक्माङ्गत कटुवालको कारबाही बदर भएसँगै गणतान्त्रिक आन्दोलन दबाउन भूमिका खेलेका सबैले उन्मुक्ति पाए ।
रमाइलो पक्ष के भने– गणतन्त्र विरोधी कमल गणतन्त्रपछि बनेका संसद् र सरकारमा निरन्तर सहभागी भए । सङ्क्रमणकालीन राजनीतिको फाइदा उठाउँदै कमल सांसद बने । संसद्मा पुगेर बारम्बार गणतन्त्रविरुद्ध बोलिरहे ।
सिद्धान्ततः गणतान्त्रिक व्यवस्थाको संसद् र सरकारमा कमल थापा सहभागी हुनु नै गलत थियो । किनकि, उनी राजावादी थिए । तर, सत्ताको रसस्वादनमा लिप्त् भइसकेका कमल कुनै न कुनै बाटोबाट सरकारमा सहभागी भइरहे ।
सिद्धान्त नै नमिल्ने व्यक्तिसँगको सहकार्यमा सरकारमा सहभागी हुँदै जाँदा कमलले नैतिकता मात्र गुमाएनन्, राजावादी नै सही, राप्रपाले बनाएको विरासत सत्तासँग साट्दै जाँदा कार्यकर्ता पनि गुमाउँदै गए ।
पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन भयो । उक्त निर्वाचनबाट पनि कमल संसद् पुगे । तर, ०७४ को आमनिर्वाचनबाट भने कमलको संसद् यात्रा रोकियो ।
कमलको संसद् यात्रामा मात्र ब्रेक लागेन, उनको राजनीतिक जीवन धरापमा पर्यो । त्यति नै बेला राप्रपामा राजेन्द्र लिङ्देनको उदय भयो । झापामा जुवा खेलाएर बस्ने राजेन्द्रको राजनीतिक उदयले कमल सेपमा पर्दै गए ।
०७४ पछि संसद्मा राजेन्द्र राजतन्त्रको पक्षमा गर्जिरहे । विस्तारै राप्रपाका कार्यकर्तामा आशाका किरण छर्दै गए । कमल, सामाजिक सञ्जालमै सीमित भए । राजेन्द्रले कार्यकर्ता आफ्नो पक्षमा पार्दै गए ।
२०७८ मंसिरमा राप्रपाको महाधिवेशन भयो । कमललाई पराजित गर्दै राजेन्द्र अध्यक्ष निर्वाचित भए । आजीवन अध्यक्ष हुन्छु भन्ने सोचेका कमललाई हाइभोल्टेजको करेन्ट लाग्यो । त्यसपछि विचलित भएर अनेक बर्बराए ।
कमलले पराजय स्वीकार्न सकेनन् । पूर्वराजपरिवारले चलखेल गरेर राजेन्द्र जिताएको आरोप लगाए । यहाँ पुगेर कमल स्खलनको चरण अन्तिम विन्दुमा पुग्यो । उनले राजावादी छवि पनि गुमाए ।
अध्यक्ष पराजित भएको तीन महिनापछि अर्थात २०७८ फागुनमा कमलले ‘राप्रपा नेपाल’ घोषणा गरे । नयाँ पार्टी मात्र घोषणा गरेनन्, राजतन्त्र छोडेर हिन्दु राज्यमात्र आफ्नो एजेण्डा भएको घोषणा गरे ।
कमलले पार्टी गठन गरेको महिना दिनपछि स्थानीय निर्वाचन आयो । स्थानीय निर्वाचनमा कमलको पार्टी गुमनाम नै भयो । उता, राजेन्द्र नेतृत्वको राप्रपाले भने केही ठाउँ जित्दै आफ्नो मत सुरक्षित गर्यो ।
एकएक गर्दै राजनीति ओरालो लाग्दै जाँदा कमल पनि विछिप्त हुँदै गए । त्यति नै बेला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आयो । चुनाव चिन्ह ‘तिर’ दिएर कार्यकर्तालाई चुनावमा पठाए । आफू भने एमालेको फेरो समातेर पछि लागे ।
केपी ओलीसँगको किनबेचका आधारमा कमलले एमालेको चुनाव चिन्ह सूर्य पाए । विडम्बना ! कमलले पाएको सूर्यमा ग्रहण लागेको रहेछ ! ग्रहण लागेको सूर्यले कमलको ओरालो यात्रामा ‘ओट’को काम गर्न सकेन । देशभर एमालेले राम्रै जित निकाल्दा कमल हारे ।
राजनीतिक जीवन र मौसममा चिसो प्रारम्भ भइसकेको बेला कमलले सोचेका थिए– एमालेको सूर्यबाट न्यानो मिल्ने छ ! तर, त्यस्तो किन हुन्थ्यो र ? ग्रहण लागेको सूर्यको किरण पृथ्वीसम्म नआए झैँ मतदाताको हात कमलले पाएको सूर्यसम्म पुगेन ।
कमल सूर्य लिएर परम्परागत क्षेत्र मकवानपुर–१ बाटै प्रतिस्पर्धामा उत्रेका थिए । तर, आफ्नै पूर्वसहकर्मी दीपक सिंहको हलो अगाडि कमलको सूर्य टिक्न सकेन । भनिन्छ– हत्केलाले सूर्य छेक्न सक्दैन । तर, यसपटक हलोले भने सूर्यलाई साँच्चिकै मज्जाले छेक्यो !
सत्ता स्वार्थमा एक–एक गर्दै सबथोक बेच्दै आएका कमलले यस पटकको निर्वाचनमा एमालेको फेरो समातेर बचेखुचेको इमानजमान पनि सिध्याए । यसरी नै, कमल थापाको राजनीतिक यात्रामा पनि पूर्णविराम लाग्यो । अब त उमेरले पनि साथ दिँदैन ।
अँ साँच्चि,
कमल राम्रो टेनिस खेलाडी हुन् । बाँकी समय टेनिसलाई नै दिए कमल र देशलाई तीन फाइदा हुन्छ ।
एक– नियमित टेनिस खेल्दा बुढेसकालमा स्वास्थ तन्दुरुस्त रहन्छ ।
दुई– पूर्वउपप्रधानमन्त्री कमललाई मैदानमा देख्दा युवामा उत्साह थपिने छ ।
तीन– बुढेसकालमा पनि कमल स्वस्थ देखिए अरु पाकाहरुलाई पनि प्रेरणा मिल्छ ।