काठमाडौं । राष्ट्रिय पार्टी बन्न संघर्षरत नेकपा (एकीकृत समाजवादी)ले सबैभन्दा धेरै मत मधेस प्रदेशमा ल्याएको छ । मधेस प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकमा उसले एक लाख १२ हजार दुई सय ६४ मत ल्याएको छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै उसले मधेसबाट भोट ल्याएको छ । समाजवादी बलियो भनिएको कर्णाली र सुदुरपश्चिममा थोरै मत आउँदा उसलाई राष्ट्रिय पार्टी बन्न समस्या भएको छ ।
प्रदेश नम्बर १ मा समाजवादीले ५४ हजार ६ सय ८७, बागमतीमा ६३ हजार ५ सय ११, गण्डकीमा १४ हजार ६ सय ९७, लुम्बिनीमा ४२ हजार ६ सय २१, कर्णालीमा ३५ हजार ८२६ तथा सुदुरपश्चिममा ४१ हजार ८ सय ३९ मत रहेको छ ।
प्रदेशसभामा समाजवादीले ल्याएको मत तीन लाख ६५ हजार पुगिसकेको छ । तर, प्रतिनिधि सभातर्फको समानुपातिकमा भने एक करोड डेढ लाख मत सदर हुँदा उसको दुई लाख ९० हजार मात्र छ । अब राष्ट्रिय पार्टी बन्न बाँकी मत गणनामा उसलाई १५ हजार मत आवश्यक हुन्छ । मतगणना अन्तिम चरणमा पुगेको छ । दोलखा, बाजुरा र स्याङजाको एक क्षेत्रमा गणना हुन बाँकी छ ।
प्रदेशमा धेरै तथा प्रतिनिधि सभामा कम मत आउनुको कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई कारण मानिएको छ । सो पार्टीले समानुपातिकमा लोकप्रिय मत ल्याउँदा समाजवादीलाई समेत धक्का लागेको छ ।