Logo
Logo

धनुषामा बञ्चरो प्रहार गरी एकको हत्या, ४ जना घाइते


630
Shares

जनकपुरधाम । धनुषामा घरेलु हतियार बञ्चरो प्रहार गरी एक जनाको हत्या भएको छ ।दुई परिवारबीच सामान्य विवादमा विहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव बञ्चरो प्रहार गरी हत्या भएको हो ।

बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र दुईजना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।

करिब दुई महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गएरातिको आक्रमण सोही घटनासँग सम्बन्धित रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्