Logo
Logo

सशस्त्र प्रहरीमा छानविन तरंग


3.4k
Shares

काठमाडौं । चुनाव सकिएलगत्तै सशस्त्र प्रहरीमा खराब अफिसरमाथि छानबिन र कारबाही तिव्र पारिएको छ । खासगरी तराईको जिल्लामा तस्करीको लाइन खुलाउने गणपति तथा बिओपी इन्चार्जहरुमाथि सशस्त्र प्रहरी मुख्यालयले कारबाही अघि बढाएको छ ।

मुख्यालयले हालै बारा गणका एसपी राजेन्द्र थापा, पर्साका तेज पोखरेल र पश्चिम नबलपरासीका एसपी रुपकुमार क्षेत्रीलाई मुख्यालय तानेर छानबिन थालेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि उनीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तानेरै छानबिन थालेको स्रोत बताउँछ ।

यसैगरी मुख्यालयबाट एसपी टोपबहादुर डांगी, उद्धव रावल, डिसपी सुदिप रेग्मी, इन्सपेक्टर नवराज काफ्लेको टोलीले दिएको प्रतिवेदनका आधारमा उनीमाथि विस्तृत छानबिन सुरु भएको हो । स्रोतका अनुसार प्रारम्भिक छानबिनमा उनीहरुले तस्करीको लाइन खुलाएको पुष्टि भएको छ । थप छानबिन प्रतिवेदनका आधारमा उनीहरुमाथिको विभागीय कारबाही तय हुने छ । कारबाही रोक्न उनीहरुले शक्ति केन्द्रमा दौडधुप सुरु गरिसकेका छन् ।

त्यस्तै, बिओपी बरैनिया बाराका इन्सपेक्टर सुमन ढुंगाना तथा नवलपरासीका केही बिओपी इन्चार्जमाथि समेत बिस्तृत छानबिन सुरु भएको सशस्त्र मुख्यालय स्रोत बताउँछ । तराईका एक दर्जन बिओपी इन्चार्जहरुविरुद्ध प्रमाणसहित मुख्यालयमा उजुरी परेको छ । चुनावको मौका छोपी विभिन्न नाकाबाट तस्करी मौलाएको हो ।

आर्थिक अनियमिततामा संलग्न इन्चार्जमाथि सशस्त्र प्रहरी नेतृत्व निर्मम बनेपछि सशस्त्र प्रहरीभित्र तरंग उत्पन्न भएको छ । नेताहरुलाई पैसा बुझाएर तराईका गण तथा बिओपी पुगेका अधिकृतहरु त्रसित बनेका छन् । यद्यपि, केहीले भने धन्दा जारी नै राखेका छन् ।

सप्तरीको विभिन्न नाकाबाट फेरि तस्करी मौलाउन थालेको छ । गत महिना मात्र सप्तरी गएका एसपी तीर्थ पौडेलले विगत १० वर्षदेखि सप्तरीमा कार्यरत असइ नुनु मण्डललाई घुमुवा राखेर लाइन खोलेको स्रोतले बताएको छ ।

यसैगरी, तिलाठी बिओपीबाट इन्सपेक्टर कृष्णकुमार भण्डारीले पनि घुमुवा परिचालन गरेका छन् । वरिष्ठ हबल्दार राजन खड्कालाइ उनले घुमुवा राखेका हुन् । तिलाठी नाकाबाट वीरेन्द्र मण्डलले सशस्त्र प्रहरीसँगको मिलेमतोमा माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिंडी र कपडाको तस्करी गर्दै आएको स्रोत बताउँछ । सशस्त्रमा घुमुवा नराख्न निर्देशन दिइएपनि कार्यान्वायन हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्