Logo
Logo

तस्करीको नेटवर्क सिंहदरबारमा


882
Shares

काठमाडौं । चुनावको मुखमा रसुवागढी नाकाबाट संगठित रुपमै तस्करी भएको खुलेको छ । तस्करीमा संलग्नलाई जोगाउन मन्त्रीहरु नै सक्रिय भएका छन् ।

राजश्व अनुसन्धान विभागले तस्करीको सामान बोकेको दुई कन्टेनर बरामद गरेपछि तस्करीको रहस्य खुलेको छ । गत साता एक गाडी रसुवामा र अर्काे नुवाकोटमा बरामद गरेको हो । तर, नुवाकोटमा बरामद भएको गाडीबाट भने सामानहरू अर्काे गाडीमा लोड गरेर रातारात गायब गरिएको थियो ।

रसुवा भन्सारको सेटिङमा ती गाडीहरुमा करोडौंका सामान ल्याउन लागिएको थियो । न्युन भन्सार तिरेर तस्करी भइरहेको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कन्टेनर नियन्त्रणमा लिएको हो । तर, बिस्तृत अनुसन्धान नगर्न आफुहरुमाथि उच्च निकायबाट दबाब आएको राजश्व अनुसन्धान विभागका एक अधिकारी बताउँछन् । विभागका महानिर्देशक मदन दाहाल चुनावको मुखमा बालुवाटारको सेटिङमा त्यहाँ गएकाले उनले यो घटनाको विस्तृत अनुसन्धान गर्नेमा आशंका व्यक्त गरिएको छ ।

चीनबाट सामान आयात गर्दै आएका काभ्रेका हेमलाल चौलागाईले रसुवागढी भन्सारका हाकिम राम मैनालीसँग मिलेर तस्करी गरेको स्रोत बताउँछ । कर्मचारीसमेत फस्ने भएपछि केस मिलाउन सबै मिलेर शक्तिकेन्द्र धाएका छन् । तस्करीमा संलग्न चौलागाईको माओवादीका उच्च नेतासँग निकटस्थ सम्बन्ध छ । उनले धेरै नेतालाई चुनाव खर्चसमेत दिएका थिए । उनी रसुवा नाकाका सेटिङ मास्टरका रुपमा चिनिन्छन् । सोही कारण अनुसन्धान प्रभावित भएको हो ।

स्रोतका अनुसार यो तस्करी प्रकरणमा रसुवाका सिडिओ नवराज पाण्डे तथा डिएसपी कुलदिप चन्दमाथि समेत छानबिन हुने सम्भावना छ । यसअघि चीनबाट तस्करी भएको रक्सी र चुरोटमा पनि भन्सार र प्रशासनको भूमिका शंकास्पद देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्