Logo
Logo

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा निष्क्रिय भएका दर्जनौं विधेयक अब के हुन्छ ?


1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौं विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ ।

अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका २७ र सरकार आफैंले फिर्ता पठाएको १२ वटा विधेयक पुन शून्य अवस्थादेखि प्रतिनिधिसभामा नै सुरु गरिने भएको हो ।

त्यसका लागि फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्ने संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए । राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा राष्ट्रियसभाबाट सात र प्रतिनिधिसभाबाट पाँच गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको हो ।

संसदको एउटा कार्यकाल समाप्त भएसँगै प्रतिनिधिसभाबाट उत्पत्ति भएका र निष्कर्षमा नपुगेका सबै विधेयक निष्क्रिय बन्न पुगेका थिए । संघीय संसदको पहिलो कार्यकाल सुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए ।

तीमध्ये एक सय एक विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण भई कानून कार्यान्वयनको चरणमा छन् । संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नेपालको नागरिकतासम्बन्धी संशोधन विधेयकमा भने प्रगति हुन सकेन ।

राष्ट्रियसभामा उत्पत्ति भएका १२ विधेयक पनि अहिले त्यहाँ विचाराधीन अवस्थामा रहेको सूचना अधिकृत धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्