काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनले आगामी संसद र सरकारको स्पपस्ट नक्सा दिइसकेको छ । केही कसरत गरे गतरुढ गठबन्धनले सहजै सरकार बनाउन सक्छ भने नेकपा एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन निक्कै असहज देखिन्छ । तर, सत्तारुढ वा प्रतिपक्षी गठबन्धने सरकार बनाउँदा साना दलको भूमिका महत्वपूर्ण हुने देखिन्छ । त्यसमध्ये एक जनता समाजवादी पार्टी नेपाल (जसपा हो । जसपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात सिट जितेको छ । समानुपातिक मतभारअनुसार चार सिट पाउने देखिएको देखिन्छ । जम्मा ८ सिट सहित राष्ट्रिय पार्टी बनेको जसपाले सरकार निर्माणमा कस्तो भूमिका खेल्ला ? यसै विषयमा जसपाका वरिष्ठ नेता एवं बारा–२ बाट नवनिर्वाचित सांसद रामसहायप्रसाद यादवसँग गरिएको कुराकानी प्रस्तुत छ ।
जनता समाजवादी पार्टी (जसपा)ले यसपटकको निर्वाचनमा नराम्रो हार व्यहोर्याे । अब जसपाका एजेण्डा सकिएकै हुन् त ?
उत्पीडित जनसमुदाय, खासगरी मधेसी, आदिवासी, मुस्लिम, थारु, महिला, दलित, खसआर्यलगायत पीछडिएका क्षेत्रका जनताको पहिचान र अधिकारका लागि हामी लड्दै आएका छौँ । पार्टीले सुरुदेखि उठाएका मुद्धामा हामी विचलित भएका छैनौँ । ती मुद्धा कार्यान्वयनका लागि हामी दृढ संकल्पित छौँ । हामी हरेक मोर्चाबाट ती मुद्धा कार्यान्वयमा लागेका छौँ । जबसम्म ती मुद्धाको सम्बोधन हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी नै रहन्छ । सडक, सदन र सत्ता जहाँबाट भएपनि हाम्रो मुद्धा सम्बोधनको प्रयासमा लागिरहेका छौँ, आगामी दिनमा पनि लाग्ने छौँ । विशेषगरी, आन्दोलनबाट प्राप्त उपलब्धिहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी प्रतिनिधित्वलाई अझ सुदृढ बनाउन हामी निरन्तर लागिरहने छौँ । संविधानमा भएका त्रृटिहरूलाई सच्याउन हाम्रो भूमिका हुनेछ । संविधानमै उल्लेख गरिएका जनताका अधिकारलाई संरक्षण गर्दै त्यसको कार्यान्वयन र थप अधिकारका लागि हाम्रो प्रयास हुनेछ । त्यस्तै, प्रदेशको अधिकार जे–जति संविधानमा व्यवस्था गरिएको छ । ती अधिकारसहित संघीय शासन प्रणालीलाई कार्यान्वयन गर्न र बलियो बनाउन हाम्रो महत्वपूर्ण भूमिका हुने छ । पक्कै पनि हामीले विगतको तुलनामा केही कम सिट जितेका छौँ । संख्यामा घटबढ हुँदैमा एजेण्डा सकिएको अर्थमा बुझ्नु हुँदैन । हामी चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्दै छौँ ।
एमालेसँगको चुनावी तालमेल कस्तो रह्यो ?
एमालेसँगको चुनावी तालमेल अपेक्षाकृत सफल हुन सकेन । पाँचदलीय गठबन्धनले सिट बाँडफाँडमा धोका दिन खोजेपछि एमालेसँग बाध्यताले तालमेल गर्नुपर्ने अवस्थामा हामी पुगेका हौँ, त्यो हाम्रो बाध्यता थियो । एमालेसँग हाम्रो मुद्दा मिलेर तालमेल भएको होइन । एमालेसँग चुनावी तालमेल मात्रै थियो । चुनावसँगै एमालेसँगको सहकार्य पनि सकिएको छ । अब कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टीमा छलफल गछौँ ।
एमालेसँगको तालमेलले जसपालाई घाटा भयो कि नाफा ?
गठबन्धनबाट एमालेलाई धेरै फाइदा भयो । तर, जसपालाई फाइदा हुन सकेन । अनेक किसिमका दृष्य–अदृष्य षडयन्त्रहरू धेरै भए । त्यसकारण एकाध सिट कम हुनु अनौठो भएन । पहिला हामीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ९ सिट जितेका थियौँ । अहिले ७ सिट मात्र जितेका छौँ । जबकि, हामी एक्लै निर्वाचन लडेको भए पनि ९ सिट जित्ने आँकलन गरेका थियौँ । एमालेका साथीहरूले कहाँ–कहाँ कमजोरी गरे भन्ने विषयमा हामी बसेर समीक्षा गर्छौैँ । क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म गम्भीर समीक्षा गरेर आगामी रणनीति तय गछौँ ।
विगतका तपाईंहरूले एमालेलाई मधेस विरोधी भनेर चित्रित गर्नुभयो । अनि, चुनावी तालमेल एमालेसँगै गर्नुभयो । त्यसकारण मधेसका जनताले दण्ड दिए भनेर बुझ्दा के हुन्छ ?
हामी अन्तिम घडीमा आएर पाँचदलीय गठबन्धनबाट किन बाहिरिनुपरेको तथ्य अवगत नै छ । हामी रहरले पाँचदलीय गठबन्धनबाट बाहिरिएका थिएनौँ । एमालेसँग चुनावी तालमेल गर्नु हाम्रो बाध्यता थियो । अन्तिम समयमा एमालेसँग भएको चुनावी तालमेलले हामीलाई नकारात्मक असर गर्यो । कुन कारणले तालमेल भयो भनेर जनतालाई बुझाउने समय पनि हामीसँग भएन । तर पनि हामीले उठाएका मुद्धालाई जनताले समर्थन गरेको अवस्था छ । त्यसकारण जनताले हामीलाई दण्ड दिए भन्नु उपयुक्त हुँदैन । बरु, हामीलाई गम्भीर भएर अगाडि बढ्ने म्याण्डेट जनताले दिएका छन् । आगामी दिनमा यी सबै विषयलाई ध्यान दिएर हामी अगाडि बढ्छौँ ।
अध्यक्ष नै पराजित हुनुभयो, योभन्दा धक्का जसपालाई के हुन्छ ?
यो दुर्भाग्यपूर्ण कुरा हो । मधेस आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्वको जसरी परिणाम आयो, त्यो अन्त्यत दुःखद् कुरा हो । हाम्रो पार्टीका लागि मात्र होइन, उत्पीडित समुदायकै लागि यो परिणाम दुःखद् हो । उत्पीडित समुदायलाई माथि उठाउने, मान–सम्मानलाई बढाउने, पहिचान दिलाउने आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्व उपेन्द्र यादव हो । यसमा कुनै दुई मत छैन । संघीयताको जननी मधेस आन्दोलन हो । र, त्यसको अगुवा उपेन्द्र यादव हो भन्ने जगजाहेरै छ । यो चुनावमा उपेन्द्र यादवलाई हराउन दृष्य–अदृष्य शक्तिहरू अनेक रुपमा लागिपरे । मुख्यतः संघीयता विरोधीहरू मसिनो ढंगले लागे । उपेन्द्र यादवको पराजयले उत्पीडित समुदाय र मधेस मात्रै होइन, राष्ट्र नै दुःखी भएको छ ।
चुनावमा हारेपछि दोष अरुलाई दिने त नेपाली संस्कार नै बन्यो होइन ?
हाम्रो पार्टीलाई कमजोर बनाउन खोज्नेहरू धेरै पहिलेदेखि नै लागेका थिए । ती षड्यन्त्रलाई चिर्दै हामी अगाडि बढेका हौँ । आगामी दिनमा पनि हामीविरुद्ध षडयन्त्र भइरहने बुझेका छौँ । त्यसलाई सामाना गर्दै हामी अगाडि बढ्ने छौँ । जनताको अधिकारका लागि हामी लडिरहन्छौँ । मधेस आन्दोलनको अगुवालाई हराउने दृष्य–अदृष्य षडयन्त्र बुझ्न नसकेकोमा जनता पछुताउन थालिसकेका छन् । एउटा व्यक्ति हार्दैमा पार्टी कमजोर हुने होइन । तर, को हार्यो भन्ने विषय मुख्य हो । सही कुरा बताउँदा अरुलाई दोष दिएको अर्थमा बुझ्नु हुँदैन भन्ने लाग्छ । जतिसुकै षडयन्त्र भएपनि हामी हाम्रो मुद्धाबाट विचलित हुँदैनौँ ।
जसपालाई एमालेले सहयोग गरेन भन्ने हो ?
तालमेलले केही क्षेत्रबाहेक अपेक्षाकृत परिणाम दिन सकेन । पाँचदलीय गठबन्धन हुँदा हामी अध्यक्षको निर्वाचन क्षेत्र सप्तरी–२ मा विपक्षीभन्दा धेरै मतले अगाडि हुन्थ्यौँ । तर, एमालेसँग चुनावी तालमेल गर्ने स्थितिमा हामी विपक्षी गठबन्धनभन्दा पछाडि परेको तथ्य थियो नै । तर, हामी चुनाव मुद्दाले जित्छौँ भन्ने थियो । विगतको डाटामा पछाडि परेपनि सन्देशका हिसाबले अध्यक्षले सप्तरी–२ बाटै निर्वाचन लड्नुभयो । हाम्रो अध्यक्षले जानीबुझीकन संकटपूर्ण घडीमा चुनाव लड्नुभएको हो । एउटा व्यक्ति हारेर पार्टी बाँच्ने हो भने केही फरक पर्दैन भनेर उहाँ निर्वाचन होमिनुभएको थियो । मुद्दाले जितिन्छ भन्ने हाम्रो मान्यतालाई अनेक षडयन्त्रका कारण सही सावित हुन सकेन । अन्ततः परिणाम सकारात्मक आएन ।
उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको घोषणा गर्नुभयो । जसपा फेरि सत्तारुढ गठबन्धनसँग नजिक हुन खोजेको हो ?
एमालेसँग चुनावमा सिट तालमेलको कुरा मात्रै भएको थियो । चुनावी परिणामसँगै त्यो अध्याय समाप्त भयो । आगामी दिनमा हाम्रो मुद्दा, एजेण्डालाई जसले बोक्छ, उसलाई हामीले समर्थन गर्ने हो, सहकार्य गरेर अगाडि बढ्ने हो ।
सिट र मुद्धाको हिसाबले पनि एमालेभन्दा सत्तारुढ गठबन्धन नै नजिक देखिएको हो ?
हाम्रो प्राथमिकता भनेको हामीले उठाएका मुद्दा हुन् । ती मुद्धा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान छ । हाम्रो मुद्दाको सम्बोधन कसरी हुन्छ, त्यही आधारमा हाम्रो आगामी बाटो तय हुन्छ ।
तपाईंहरूका मुद्दा चाहिँ के हुन् ?
उत्पीडित जनसमुदाय हक–अधिकार स्थपित गर्नु हाम्रो मुख्य मुद्धा हो । नागरिकता बारेको मुद्दा ताजै छ । संविधानलाई नसच्याउने हो भने समस्या रहिरहन्छ । निर्वाचन प्रणााली, शासकीय स्वरूप, न्याय प्रणालीमा सुधारका साथै समावेशिता, पहिचानको सवाललाई हामीले जोड दिएका छौँ । संघीय शासन व्यवस्थालाई सफल बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनैपर्छ । त्यसकारण संविधान संशोधनसँगै उत्पीडित क्षेत्र र समुदायको मुद्धालाई हामी छाड्न सक्दैनौँ । राजनीतिक, सामाजिक, संस्कृति र आर्थिकलगायत सबै प्रकारका विभेद अन्त्य हुनुपर्छ भन्नेका हामी दृढ छौँ ।
तर, जनताले त तपाईंहरूलाई पराजित गरेर मधेसमा नयाँ शक्तिको उदय गराइदिए नि होइन ?
चुनाव एउटा राजनीतिक प्रक्रिया हो । जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो । यो चुनावबाट पनि जनप्रतिनिधि छान्ने काम भएको छ । विडम्बना, यो चुनावमा आन्तरिक र बाह्य षडयन्त्र भयो । यसको मुल्यांकन हुन्छ नै । कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । चुनावी परिणाम रहस्यमयी भए पनि जनताको निर्णयलाई हामी सम्मान गर्छौँ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीप्रति जसपाको धारणा के हो ?
नागरिक उन्मुक्ति पार्टी एउटा समुदायमाथि अन्याय, अत्याचार भयो, शोषण भयो, उत्पीडन भयो भनेर संगठित रुपमा अगाडि बढेको शक्ति हो । यसरी अगाडि बढ्नु सकारात्मक कुरा हो । जहाँसम्म तपाईँले अर्को पार्टीको कुरा गर्नुभयो, सबैभन्दा पहिला विगतमा उहाँहरूले उठाएका मुद्दा हेर्नुस । ती मुद्दालाई उहाँहरूले कसरी छाड्नुभयो भन्ने कुरा जगजाहेरै छ । कुन व्यक्ति कसरी आयो, कसरी चलिरहेको छ भन्ने कुराको जनताले मुल्यांकन गर्ने नै छन् । समय–समयमा राजनीतिमा सामान्य हुरीबतास आइरहन्छन् । जनतालाई भ्रममा पार्ने काम कहिलेकाही सफल पनि हुन्छ । जनताको आँखामा छारो हार्ने काम कहिलेकाही सफल भएको देख्न सकिन्छ । तर, त्यो स्थायी रुपले सधैँको लागि हुँदैन । उहाँहरूसँग एजेण्डा छैन । तत्कालीन मधेसी जनअधिकार फोरमले उठाएका जनताका एजेण्डा अहिले पनि हामीले उठाइरहेका छौँ । हाम्रा मुद्धालाई कमजोर पार्ने षडयन्त्र बेला–बेलामा हुँदै आएका छन् । ती षडयन्त्रलाई हामीले चिर्दै आएका पनि हौँ । फेरि पनि षडयन्त्र भइनै रहेका छन् । त्यसप्रति हामी सचेत छौँ । आगामी दिनमा जनताले अझ धेरै कुरा बुझ्ने अवसर पाउँछन् भन्ने लाग्छ ।
आगामी दिनमा दलहरूसँग सहकार्य गर्दा केन्द्र र प्रदेशमा एउटै नीति हुन्छ कि फरक–फरक रणनीति ?
मुद्धाका आधारमा अगाडि बढ्ने भएपछि केन्द्र र प्रदेशमा एउटै नीति हुन्छ । केन्द्र र प्रदेशमा फरक–फरक ढंगले हामी सोच्दैनौँ । मुद्धा मिल्ने शक्तिसँग केन्द्र र प्रदेश सबैतिर सहकार्य हुन सक्छ ।
अन्त्यमा केही भन्नु छ ?
मधेस आन्दोलनका शहीदहरूको आत्माको शान्तिका लागि पनि उत्पीडित समुदायको हकअधिकार स्थपित गराउनुपर्छ । अझै पनि संविधानमा केही विषय सम्बोधन हुन बाँकी छ । ती बाँकी विषय सम्बोधन गराउनका लागि र संघीय शासन प्रणालीलाई सुदृढ बनाउनका लागि हामी लागिपर्ने छौँ । उत्पीडित समुदायको पहिचान र अधिकारका लागि हाम्रो संघर्ष जारी नै रहेको छ । यस अभियानमा यहाँहरूको सहयोग र समर्थन होस् भन्ने हाम्रो आग्रह छ ।