Logo
Logo

भूमिगत जीवनका थप जिम्मेवारी


5.7k
Shares

… अझै भूमिगत थिएँ । तर पार्टीको जिम्मा भने बढेको बढ्यै थियो । बाहिर खुल्ला हिंड्न सक्दिन थिएँ । तर, लुकीलुकी अनेक बाटो हिँडेर भए पनि आफ्नो गति र जिम्मेवारीलाई छोडेको थिइनँ । ‘एउटा बाटो बन्द भए अनेक बाटो खुल्छ’ भन्ने भनाई नै छ । साँच्चै हो पनि । त्यति बेला प्रत्यक्ष अनुभव गरें ।

जिम्मा बढ्दै जाने क्रममा थाहा पाउन थालेँ– पार्टीको माथिल्लो तहमा पुरुष मात्रै रहेछन् । हुन त सबैको बारे जानकारी हुँदैन थियो, तर जिल्लास्तरमा रहेको आफ्नो जिम्मेवारी बढ्दै जाँदा भेटेका माथिल्ला तहका नेता सबै पुरुष मात्रै देखेपछि नेतृत्वमा महिलाहरुको कमी भएको अड्कल काट्न गाह्रो थिएन । मैले आफ्नो जिज्ञासा राखेपछि र महिला नेताको अभावबारे कमरेडहरुले विस्तारै केही महिला कार्यकर्ताहरुसँग भेट गराउन थाले ।

सबभन्दा पहिले ‘झापा विद्रोहमा सानै उमेरमा सामेल भएका कार्यकर्ता’ भनेर सीता खड्कासँग भेट गराए । तर, उनी अझै नेता भइसकेका थिएनन् । अझै कलिलो उमेरका उनको अध्ययन र सैद्धान्तिक स्तर त्यो बेला पुरुष नेताहरुको जस्तो हुन सकेको थिएन । कतिपय व्यवहारिक कारणले पनि उनले धेरै जिम्मा लिन सक्ने अवस्था थिएन । उनी विवाहित मात्र हैन, बच्चाका आमासमेत भइसकेका थिए । पुरुष सरह अघि बढ्न उनलाई सजिलो थिएन ।

त्यो बेलाका पार्टीका महासचिव सीपी मैनालीका पत्नी थिइन् उनी– काठमाडौं आएका बेला मात्र भेटिने महिला कार्यकर्ता । म भने अझै माथिल्लो तहमा कोही महिला नेता छन् कि छैनन् भनी खोज्दै थिएँ । बुझ्दै जाँदा नेतृत्व तहमा त महिला ज्यादै नै कम रहेछन् भन्ने थाहा भयो । झनै महिलाको खाँचो महशुस भयो । म स्वयं महिला हुनुले पनि होला पहिल्यैदेखि पुरुषसरह नै काम गर्नु पर्छ र नेतृत्व तहमा महिला पुग्नै पर्छ भन्ने धारणा थियो । यो कुरा पनि व्यक्त गर्न थालेँ नेतृत्वसँग ।

त्यसपछि झापा आन्दोलनकै क्रममा सानै उमेरमा जेल परेका अर्का महिला कार्यकर्ता– जेलबाट भर्खरै बाहिरिएका गौरा प्रसाईसँग भेटघाट गराइयो । उनले पनि सैद्धान्तिक बुझाई र नेतृत्वकला विकास गर्ने अवसर पाएका थिएनन् । जेलको अनुभवले मात्र नेतृत्व तहमा पुर्याउने कुरा भएन ।

अलिपछि पश्चिमबाट राधा ज्ञवाली काठमाडौं आइपुग्दा भेट गरायो पार्टीले । उनी पनि नेतृत्व तहमा पुग्न नभ्याएको कुरा नै बुझेँ । मलाई लाग्न थाल्यो– त्यो बेला त अपेक्षाकृत सक्षम महिला बरु काठमाडौंमै पो रहेछन् कि …!

त्यो बेलासम्ममा अष्टलक्ष्मी भूमिगत संगठककै जिम्मा लिएर उपत्यका बाहिर गाउँमा गइसकेका थिए । जस्तोसुकै काम गर्न तयार पूर्णशोभा, शारदा कोइराला आदि थिए । उच्च शिक्षा पाइसकेका रविलक्ष्मी चित्रकार र स्वस्ती बज्राचार्य, शिक्षक आन्दोलन भोगिसकेका मिरा ध्वंजु, कमै उमेरमा विद्यार्थी क्षेत्रमा सक्रिय भई कामगरिरहेका सुमित्रा जोशी, लक्ष्मी मानन्धर, अनिता आदि महिला क्रान्तिकारी काठमाडौँमै थिए ।

हाम्रै सम्पर्कमा रही दिलोज्यानले काम गरिरहेका जमुना श्रेष्ठ (खत्री), शोभा श्रेष्ठ (जमुना स्थापित) आदिको आफ्नै भूमिका थियो । कति साथीका नामहरु त मजदूर आन्दोलनको चर्चा गर्दा पनि उल्लेख भइसकेका छन् । सपना मात्र हैन, अनुभव पनि भइसकेका साथीहरु हुन् यी ।

दिदी पुस्तामा समेत मेरै दिदी पद्मा मानन्धर लगायत शेल्टर दाता ‘आमा,’ ‘भाउजु’ भनी सम्बोधन गरिने साथीहरुकै परिवारमा धेरै नै सक्षम, समर्पित र इमान्दार महिला कार्यकर्ताहरु थिए । महिलाकै कमि त थिएन । मात्र सशक्तिकरणको खाँचो थियो । अध्ययन स्तर र नेतृत्व क्षमता बढाउनु थियो ।

एकजना सजिलै कुरा बुझ्ने नेतासँग प्रस्ताव राखें– ‘हामीलाई आफ्नो सैद्धान्तिक ज्ञान बढाउन मद्दत गर्ने ‘गाइड’ चाहियो । महिलाहरुमा अध्ययनको कमि रहन दिनु भएन …’ जुनकुरा मैले अति गोप्यवादी संगठनबाट छुटिँदादेखि नै महशुस गरेको थिएँ ।

मैले कुरा राखेपछि संगठक नेताबाट सकारात्मक जवाफ पाएँ– हुन्छ । त्यसपछि सैद्धान्तिक अध्ययन गहिरो भएकै कार्यकर्ताको खोजी भैरहेको कुरा पनि अप्रत्यक्ष रुपमा थाहा पाएँ । म ढुक्क भएँ ।

सांगठनिक कामहरु अगाडि बढ्दै गए । तर म बाहिर धेरै निस्कन भने अझै पाएको थिइनँ । दिनभरी एकै ठाउँमा बस्न मन लागिरहेको थिएन । मजदूर आन्दोलन सामसुम भएपछि कारखाना फेरि चल्न थाल्यो । काम गर्न जानेहरु गए । आन्दोलनकारी नेताहरु जान सक्ने स्थिति थिएन ।

मजदूर नेता मध्येकै लक्ष्मीबहादूर कारञ्जितका श्रीमती धेरै नै बिरामी भएर अस्पतालमा राख्नुपर्ने अवस्था आयो । कस्तो फसाद ! लक्ष्मीबहादुर आफै घरमा बस्न नमिल्ने । उनी पनि भूमिगतै थिए । मेरो दिदीको पुरानो सानो घरमा उनलाई शेल्टर दिइएको थियो, सानो कोठामा । मजदूर आन्दोलन असफल हुनुले मजदूर नेताहरुको मात्र होईन, अरुका दैनिकी पनि असहज बनेका थिए ।

मजदूर फाँटको जिम्मा आफ्नै भएकोले मजदूर नेताका श्रीमती नै सिकिस्त बिरामी हुँदा उनलाई कहाँ कुन अस्पताल लाने भन्ने लगायतका जिम्मा पनि कमिटीबाट मेरै भागमा आयो । त्यो बेला भक्तपुर अस्पतालमा डा. अशोकानन्द मिश्र थिए । उनी वरिष्ठ फिजिसियन थिए र भक्तपुर अस्पतालमा आफ्नै पहलमा क्षयरोगको एउटा छुट्टै वार्ड खोलेका थिए ।

लक्ष्मीबहादुरको श्रीमतीलाई पनि क्षयरोगको शंका थियो । त्यही अस्पतालमा भएका एकजना युवा डाक्टरसँग पनि पार्टीको भर्खरै जस्तो सम्बन्ध बढिरहेको थियो । बैठकहरुमा उनी एक असल चिकित्सक भएको र पार्टीसँग सम्पर्क बढ्दै गरेको कुरा हुन्थ्यो ।

त्यसपछि बिरामीलाई भक्तपुरमै पठाउने निर्णय भयो । उपचार पनि धमाधम हुन थाल्यो । भूमिगतको अवस्थामा विरामीका श्रीमान अस्पतालमा कुरुवा बस्न सक्ने अवस्था भएन । कम्तीमा नजिकबाट जिम्मा लिने कोही मान्छे त हुनै पर्यो । घरैमा बसिरहनु भन्दा त्यो जिम्मा लिन म तयार भएँ ।

वारेन्ट पुरानो हुँदै थियो र पक्राउ पर्ने डर अलि कम भैसकेको थियो । अस्पतालमा महिला विरामीलाई कुरुवा बस्ने मान्छेमाथि पुलिसको हत्पति आँखा नपर्ला भन्ने पनि लाग्यो । अस्पतालामा गएर कुरुवा बस्न थालेँ । बिरामीको स्थितिका बारे डाक्टरहरुसँग कुरा बुझ्न पनि सजिलो भयो । अनि अस्पतालकै बारे र काम गर्ने अन्य डाक्टरहरुका बारे पनि कुरा बुझ्न सजिलो भयो ।

पार्टी कमिटीलाई पनि ढुक्क भयो मैले जिम्मा लिइदिएपछि । अन्य परिस्थिति पनि केही सजिलो हुँदै गयो । केन्द्रीय स्तरका नेताहरू चिन्दै गएँ र जिल्लाका कार्यकर्ताहरूसँग त संगै काम गर्दै जानुपर्ने अवस्था थियो ।

रातभरी पनि बैठक चल्ने गथ्र्यो । त्यहीबेलातिरको कथा हो, पहिल्यै उल्लेख गरेको ‘एकटुक्रा लाखामरी’को कथा । बिस्तारै आफ्नै घर पनि फर्किन थालें । आमा मसँग दिक्क हुनु स्वाभाविकै थियो । तर, पछि त गाली नै गर्न पनि थाक्नुभयो, मैले कति दुःख दिएकी हुँला ! सम्झदा मन अझै दुख्छ ।

प्रतिक्रिया दिनुहोस्