Logo
Logo

रसुवा भन्सारका प्रमुख छानबिनमा


3.1k
Shares


काठमाडौं । चुनावको मुखमा रसुवागढी नाकाबाट संगठित रुपमै तस्करी भएको खुलेको छ । तस्करीमा संलग्न व्यापारी र कर्मचारीलाई जोगाउन मन्त्रीहरु नै सक्रिय भएका छन् ।


राजश्व अनुसन्धान विभागले तस्करीको सामान बोकेका दुई कन्टेनर बरामद गरेपछि तस्करीको रहस्य खुलेको छ । दुई साताअघि एक गाडी रसुवामा र अर्काे नुवाकोटमा बरामद गरेको हो । तर, नुवाकोटमा बरामद भएको गाडीबाट भने सामानहरू अर्काे गाडीमा लोड गरेर रातारात गायब गरिएको थियो ।


रसुवा भन्सारको सेटिङमा ती गाडीहरुमा करोडौंका सामान ल्याउन लागिएको थियो । न्युन भन्सार तिरेर तस्करी भइरहेको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कन्टेनर नियन्त्रणमा लिएको हो । तर, बिस्तृत अनुसन्धान नगर्न आफुहरुमाथि उच्च निकायबाट दबाब आएको राजश्व अनुसन्धान विभागका एक अधिकारी बताउँछन् । विभागका महानिर्देशक मदन दाहाल चुनावको मुखमा बालुवाटारको सेटिङमा त्यहाँ गएकाले उनले यो घटनाको विस्तृत अनुसन्धान गर्नेमा आशंका व्यक्त गरिएको छ ।


चीनबाट सामान आयात गर्दै आएका काभ्रेका हेमलाल चौलागाईले रसुवागढी भन्सारका हाकिम नारायण भण्डारीसँग मिलेर तस्करी गरेको स्रोत बताउँछ । कर्मचारी समेत फस्ने भएपछि केस मिलाउन सबै मिलेर शक्तिकेन्द्र धाएका छन् । भन्सार प्रमुख भण्डारी ठूलो शक्ति प्रयोग गरी यसअघिका प्रमुखलाई नौ महिनामै हटाएर रसुवा गएका हुन् ।


तस्करीमा संलग्न चौलागाईको माओवादीका उच्च नेतासँग निकटस्थ सम्बन्ध छ । उनले धेरै नेतालाई चुनाव खर्च समेत दिएका थिए । उनी रसुवा नाकाका सेटिङ मास्टरका रुपमा चिनिन्छन् । सोही कारण अनुसन्धान प्रभावित भएको हो । यो तस्करी प्रकरणमा रसुवाका सिडिओ नवराज पाण्डे तथा डिएसपी कुलदिप चन्दमाथि समेत छानबिन हुने सम्भावना छ । यसअघि चीनबाट तस्करी भएको रक्सी र चुरोटमा पनि भन्सार र प्रशासनको भूमिका शंकास्पद देखिएको थियो । राजश्व अनुसन्धान विभागले सो प्रकरणमा छानबिन समिति गठन गरेको छ । छानबिनको क्रममा भन्सारको मिलेमतो देखिएमा कर्मचारीविरुद्ध समेत मुद्दा दायर हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्